नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत सम्भार गर्न मन्त्रीको निर्देशन

admin

काठमाडौं, २० माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण भएका संरचनाहरू मर्मत गर्न निर्देशन दिनुभएको छ ।

आज बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा स्थलगत अवलोकन गर्दै सङ्ग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरूको मर्मत गर्न निर्देशन दिनुभएको हो ।

अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्ग्रहालयभित्रका विभिन्न ठाउँमा बत्ती जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गर्न निर्देशन दिएको बताउनुभयो ।

त्यसैगरी गेटको बाहिर छाना चुहिने अवस्थामा रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उहाँले बताउनुभयो ।

त्यस्तै सङ्ग्रहालयमा रहेका पुराना गाडीलाई मर्मतका साथसाथै रङ्गरोगन गरेर राख्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले नारायणहिटी दरबार सङ्ग्रहालयमा अधुरा रहेका काम सम्पन्न गर्नका लागि छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘यहाँ ठाउँ–ठाउँमा बत्ती पनि जीर्ण भएको अवस्था छ । ती बत्तीकाे मर्मत गर्नुपर्छ । अनि गेटको बाहिरकाे छाना चुहिने रहेछ ।

त्यसलाई पनि तुरुन्त मर्मत गर्ने र यहाँ भएका पुराना गाडी मर्मत गरेर, रङ्गराेगन गरेर म्युजियममा राख्ने लगायतका काम गर्नुपर्ने देखियाे । आउँदाे बजेटमा नारायणहिटी सङ्ग्रहालयभित्र भएका अधुरा काम सम्पन्न गरिनेछ ।’

मन्त्री आलेले विगतमा सङ्ग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचना भत्काइसकिएको बताउनुभयो ।

सङ्ग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आउँदाे आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।

बतास समूहलाई नारायणहिटी दरबार सङ्ग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया