ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बन्ने, राजतन्त्रको एजेन्डा स्वीकारे

admin

काठमाडौं, ३ फागुन : हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको एक प्रवक्ता बन्ने भएका छन् । सो अभियानलाई राप्रपामा समाहित गर्ने सहमतिपछि शाहीले प्रवक्ताको जिम्मेवारी पाउने भएका हुन् ।


आज दुवै पक्षबीच भएको वार्तापछि सहमति भएको शाहीले जानकारी दिए । एक पदाधिकारीसहित ७ जना केन्द्रीय सदस्य आफ्नो अभियानलाई दिने कुरा लिखित समझदारीमै उल्लेख रहेको उनले बताए ।

समझदारीपत्रमा राप्रपाको वार्ता टोली संयोजक डा. धवलशम्शेर राणा र अभियानको वार्ता टोली संयोजक विनोद खड्काले हस्ताक्षर गरेका छन् ।

हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित भएको औपचारिक घोषणा आउँदो ६ फागुनमा गरिने भएको छ ।

शाहीले राजतन्त्रको एजेन्डलाई स्वीकारेर राप्रपामा समाहित हुने निर्णय गरिएको बताए । विगतदेखि नै शाहीलाई धेरैले ‘राजावादी’ मान्दै आए पनि उनी स्वयम् भने खुलेका थिएनन् ।

उनले खासगरि भ्रष्टाचारका विषयहरुलाई मुद्दा बनाएर अभियान सञ्चालन गदैं आएका थिए । राप्रपामा भ्रष्टाचारका विषयमा काम गर्न छुट्टै विभाग समेत बनाउने सहमति भएको छ ।

शाहीले राजतन्त्रको एजेन्डा आफूहरुले स्वीकार्ने बताए । उनले भने, ‘यो देश राजाले नै आर्जेको हो । राजाले आजसम्म देशमा भ्रष्टाचार गरेका छैनन् । हिजो गणतन्त्र आइसकेपछि १३ वर्षसम्म पनि राजा यही देशमा हुनुहुन्छ ।

नेताहरु त पूर्व हुनेवित्तिकै यो देशमा बसेका छैनन् । अब हामी संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डालाई अघि बढाउँछौं ।’

 

प्रतिक्रिया