त्रिविका ३६ क्याम्पसमा १३ वर्षदेखि भएन स्ववियु चुनाव

admin

काठमाडौं, ४ फागुन : हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्ने व्यवस्था भए पनि त्रिभुवन विश्वविद्यालयका ३६ आंगिक क्याम्पसमा १३ वर्षदेखि हुन सकेको छैन । उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ क्याम्पसमा ०६५ यता स्ववियु चुनाव नभएको हो ।

०६५ मा त्रिविका देशभरका सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा चुनाव भएको थियो । त्यसको आठ वर्षपछि ०७३ मा उपत्यकाका नौसहित देशभरका २६ क्याम्पसमा मात्रै चुनाव भयो, तर ठूला क्याम्पसहरूमा चुनाव भएन ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार त्यतिवेला उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ क्याम्पसमा स्ववियु चुनाव हुन नसकेको हो ।

आधिकारिक स्ववियुका प्रतिनिधि नहुँदा शैक्षिक मुद्दामा क्याम्पसहरू दलनिकट संगठन र तिनका गुट झेल्न बाध्य छन् । त्यस्तै, विद्यार्थीका कतिपय गम्भीर मुद्दा पनि ओझेलमा परेका छन् ।

त्रिविको नियमअनुसार क्याम्पस व्यवस्थापन समितिलगायतमा स्ववियुको प्रतिनिधित्व रहने व्यवस्था छ । विद्यार्थीको गुनासो सुन्ने, समस्या समाधानका लागि पहल गर्ने आधिकारिक संगठन स्ववियु नभएपछि राजनीतिक दलनिकटका संगठन हाबी भएका हुन् ।

क्याम्पसहरूले विद्यार्थीको प्रतिनिधित्व हुने एउटा आधिकारिक संस्थासँग समन्वय गरे हुनेमा अहिले दलनिकटका संगठन र तिनका गुटसम्मको प्रभावले असर गरिरहेको विभिन्न क्याम्पसका प्रमुख तथा विभागीय प्रमुखहरूको गुनासो छ ।

पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापा स्ववियु चुनाव नहुँदा विद्यार्थीको आवाज संकुचन भएको र क्याम्पस प्रशासनलाई काम गर्नसमेत कठिनाइ भएको बताउँछन् ।

‘विद्यार्थीको आधिकारिक प्रतिनिधित्व स्ववियुमार्फत नहुँदा दलनिकटका थरीथरी विचार आउँछन्, विचार नमिल्दा दीर्घकालीन महŒवका कार्यक्रममा असर पर्छ,’ थापाले भने, ‘विद्यार्थीको आवाज संकुचन मात्र भएको छैन, क्याम्पसको गतिशीलतामा असर परेको छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया