‘ओली एमसीसीको विपक्षमा जानुभयो भने उहाँको राजनीतिक विश्वसनियता समाप्त हुन्छ’: रामचन्द्र पौडेल

admin

काठमाडौं, ४ फागुन : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामो जेलिएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले बाराको सिमरामा आयोजना गरेको ‘विशेष साक्षात्कार’ मा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरि कसैले पनि ‘डबल–स्ट्याण्ड’ को भूमिका खेल्न नहुने टिप्पणी गरे ।

उनले भने–‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालामो जेलिएका छन् । कम्युनिष्टका नेताहरु जेलिएका छन् । उहाँहरु प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयम झलनाथजीबाट भएको हो ।

यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरु सबै संलग्न हुनुहुन्छ । सबै नेता पालैपालो संलग्न हुनुहन्छ । यो सुरुमा संसद्बाट अनुमोदन गर्ने कुरा थिएन । केपी ओली प्रधानमन्त्री बनेपछि संसद्बाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो ।

अमेरिकाको यो संसद्बाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन । यसलाई संसद्मा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो । अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ ? एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होईन ? यसको परीणाम के हुन्छ ? नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरुलाई हामीविरुद्ध पुर्याउने काम पनि हुन्छ, म समाजवादी हो । म नेपालवादी हो। यस्तो किसिमको फट्याँई मलाई मन पर्दैन् । डबल स्ट्याण्ड कसैले पनि नगरौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अब देशको विकास गर्नेगरि सबै दल जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे । उनले भने,‘देशको विकास गरौं । नेताहरुले विकास नअलमल्यायौं ।

सधैं नेपाल गरिबी रहनुपर्ने ? विद्युत त देशको विकास गर्ने माध्यम हो । देशको विकासलाई अवरोध नगरौं । कुनै कम्युनिष्ट नेता पनि अलग हुन पाँउँदैनन् । जनतालाई भ्रम पारिएको छ । यो देशविरुद्ध अन्याय र बेइमानी हो नि । यहाँका कम्युनिष्टले भ्रम छरे । मुलुकको हितको लागि ठोस काम गर्नुपर्छ नि । भ्रमको कुहिरोमा सधैं देशलाई डुबाईराख्ने ?’

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका नेता पौडेलले प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालामो फसेको जिकिर गरे । उनले भने–‘सुरुमा एमसीसी ल्याउनमा प्रचण्ड र माधव नेपाल आँफै लाग्नुभयो ।

पछि क–कसले कुन–कुन सुत्रबाट यसको विरुद्धमा जानुपर्छ भन्ने कुरा आयो, त्यो कुरा आएपछि उहाँहरुले आफ्नो तर्कशक्ति एमसीसी खराब हो भन्नेमा खर्च गर्नुभयो । उहाँहरु ऋहिले माकुरा आफ्नो जालोमा फसेजस्तो फस्नुभयो । उहाँहरु आँफैले फैलाएको झुटो अफवाहको जालामो आँफै अल्झिनुभएको छ। मैले त जानेको कुरा यत्ति हो ।’

उनले आफू त सबैसँग सहकार्य गरेर जाने व्यक्ति भएको पनि उल्लेख गरे । ‘उहाँहरु प्रचण्ड र माधवजी परिवर्तनको पक्षमा उभिनुभएको छ। सकारात्मक दृष्टिकोण पाएको हुनाले म उहाँहरुसँग उभिएको पनि छु ।

अहिले उहाँहरु नचाहिने कुरामा फस्नुभएको छ, म उहाँहरुलाई त्यहाँबाट उद्धार गर्न चाहन्छु ।’उनले आफ्नै पार्टीभित्र पनि एमसीसीबारे जनतालाई बुझाउनको लागि पर्याप्त भूमिका नखेलिएको गुनासो पोखे ।

उनले थपे–‘मैले मेरो पार्टीभित्र पनि एमसीसीलाई लिएर जनतामा बुझाउनुपर्छ भनेको छु, , संयन्त्रभित्र पनि यही कुरा उठाएको छु, पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई पनि भनेके छु–तपाईँका महामन्त्री नबोल्ने ? मन्त्रीहरु नबोल्ने ? जनताको बीचमा यो कुरा लान नसक्ने भनेर भनेको छु, एमसीसी मेरो काँधमा मात्रै थुपार्न हुँदैन भनेर पनि देउवाजीलाई भनेको छु । मैले हाम्रा नेताहरुलाई यसको पक्षमा बोल भनेको छु । कांग्रेसका नेताहरुले एमसीसीबारे स्पष्ट कुरा जनताको बीचमा ल्याउनुपर्छ ।’

उनले एमसीसी सदनमा लैजानुभन्दा अघि नै जनतालाई सही कुरा बुझाउनुहोस भनेर पनि आफूले प्रधानमन्त्री देउवालाई भनेको स्मरण गराए । उनले भने,‘एमसीसीबारे यो यथार्थ हो भनेर जनतालाई भन्नुहोस भनेको छु, हाम्रो पार्टीका नेताहरु स्पष्ट रुपमा उभिनुपर्छ ।

आफ्नो पक्षमा सही ढंगले उभिनुपर्छ, एमसीसी पास गरिदिउँ, लागु गरिदिउँ अनि यसबारे भ्रम आँफै मेटिन्छ भन्ने देउवाजीको भनाई छ, तर, आफ्नो कुरा जनतालाई भन्नुपर्छ । अल्छी गर्नु हुँदैन् ।’

उनले एमसीसीको अनुदान लिनु भनेको र्याल चुहाउने कुरा नभएको भन्दै पत्रकारको प्रश्नमा प्रतिवाद गरे । उनले भने,‘अमेरिका यहाँ आईरहेको होईन, एउटा कम्पनी बनेर खोलेर राज्य बनाउन लागिरहेको छैन् । विजुली बेचेर पैसा कमाउ भनेको छ, अनुदान दिएको हो । हामीले नै अनुदान चाहियो भनेर भनेको हो । अहिले लिनुपर्छ । फेक प्रचार गरेर उसलाई ईब्यारेसिङ गर्ने काम गर्नुहुँदैन् ।’

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एमसीसीको विपक्षमा उभिनै नसक्ने पनि दाबी गरे । उनले भने,‘ओलीजी एमसीसीको विपक्षमा जानै सक्नुहुन्न । कसरी जानुहुन्छ ? हामी हेर्छौं । एमसीसी संसद्मा गएपछि हामी उहाँको अग्निपरीक्षा हेर्छौं ।

ओली विपक्षमा जानुभयो भने उहाँको राजनीतिक विश्वसनियता समाप्त हुन्छ । किनभने उहाँ नै होईन ? एमसीसी संसदबाट पास गर्छौं भनेर निर्णय गराउने मान्छे ? अनि किन त्यस्तो गराएको त ? नेपाली जनतालाई धोका दिन हो त ? आएको अनुदान फर्काउनको लागि केपी ओलीले षड्यन्त्र गरेको हो त ? यदि उहाँ विपक्षमा जानुभयो भने षड्यन्त्र गरेको सावित हुन्छ ।’

उनले आगामी बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्ने विश्वास दिलाए । उनले भने,‘निर्वाचन तोकिएकै मितिमा हुन्छ । त्यसको लागि सबै तयार हुनुपर्छ ।’
उनले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम रहने पनि विश्वास दिलाए ।

उनले भने–‘नेपालको राजनीतिमा परिवर्तन आयो, संविधान आयो, जनताले अधिकार पाए, यसलाइ सहन नसक्ने तत्वहरुको एउटा षड्यन्त्र छ । र, यसलाई उल्टाउने प्रयत्न छ। त्यो उल्टाउने प्रयत्नमा कमसेकम प्रचण्ड, माधव नेपालहरु हुँदैन भन्नेमा हुनुहुन्छ, परिवर्तनको पक्षमा भएको कारणले उहाँहरुसँग सहकार्यको आवश्यकत्ता छ ।’

उनले संविधानमा व्यवस्था भएको निर्वाचन प्रणालीअनुसार पनि कसैले पनि एकल बहुमत ल्याउनसक्ने अवस्था नरहेकोले गठबन्धन आवश्यक रहेको औंल्याए । उनले भने,‘यो संविधानले कस्तो निर्वाचन प्रणाली बनाईदियो भने कुनैपनि एक दलले बहुमत ल्याउन सक्दैन् ।

समावेशीको कारणले गर्दा पूर्ण बुहमत एक पार्टीलाई आउन सक्दैन्, आयो भने त्यो अपवादमा मात्रै हुन्छ । सरकार बनाउन त बहुमत चाहिन्छ । बहुमत पुर्याउनेगरि संसद्मा जानुपर्छ ।

त्यसको लागि एक्लै सम्भव छैन् । सबै मिलेर जानुपर्छ । भोलि गएर मिलेर सरकार बनाउँ भन्नु चाहीँ उल्टो कुरा हो । पहिले नै बरु बहुमत ल्याउनेगरि मिलेर जाउँ । यो चाहीँ पोलिटिकल विस्डम (राजनीतिक बुद्धिमता) हो ।

यही भावनाले काम गरौं । गठबन्धन सँगै चुनावमा जानुपर्छ । यसो गर्दा केही घाटा हुँदैन् । तर गठबन्धन गरेर चुनावमा जाँदा अंशबण्डा र भागबण्डा जस्तो हुँदैन् । ठाउँअनुसार तालमेल गरौं । जहाँ हामी पर्याप्त छौं, त्यहाँ हामी एक्लै लड्छौं । अनि जहाँ उहाँहरु आँफै पर्याप्त हुनुहुन्छ, त्यहाँ उहाँहरु लड्नुहोला । जस्तो जहाँ हामी पर्याप्त छैनौं भने मिलेर लडौं । म त त्यस्तो व्यवहारवादी व्यक्ति हुँ ।’

एमसीसीकै कारण पाँच दलीय गठबन्धनमा कुनै दरार नआउनेमा आफू आशावादी रहेको उनको भनाई छ । उनले भने,‘पाँच दलीय गठबन्धनमा दरार अउननुहुहुँदैन भन्ने मेरो सदिक्षा हो । गठबन्धन ऐतिहासिक बाध्यताले बनेको हो । मुलुकलाई प्रतिगमनबाट बचाउन र परिवर्तनको रक्षाको लागि गठबन्धन बनेको हो । परिवर्तनको रक्षाको लागि कुरा मिल्नेहरु एक ठाउँमा जम्मा भएका हुन् । एकताको आवश्यकत्ता छ। यथार्थवादी बनौं ।’

उनले अमेरिकाले एमसीसीमार्फत नेपाललाई अनुदान दिनुको कारण नेपालको गरिबी हटोस भनेर दिएको पनि स्पष्ट पारे । उनले भने,‘जनताको विकासलाई राज्यले उपेक्षा गनुहुँदैन् । मैले तत्कालिन राजा वीरेन्द्रसँग पनि देशमा द्धन्द्ध भएको बेला जनता असन्तुष्ट भए भने अतिवादको शिकार बन्छन् भनेर म कर्णालीमा विकास लिएर गएको थिएँ । सुरक्षा योजना लिएर गएको थिएँ ।’

नेता पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल थाल्नुपर्ने बताए । उनले भने,‘यो मुलुकमा राजनीतिक दल र यहाँको कर्मचारीतन्त्र पनि ईमानदार छैनन् । बास्तवमा भन्ने हो भने एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर आज होईन चक्रप्रसद बास्तोला पर्यटनमन्त्री हुँदा उहाँले यो सुरुवात गरेको हो । काठमाडौंको नजिकै एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट आवश्यक छ भनेर सुरुवात गरेको हो ।

तर, राम्रो कुरा सुरुवात गर्ने अनि त्यसलाई निश्कर्षमा पुर्याउन समय लाग्ने यो गलत परिपाटी छ । राज्यले सबै कुरा अर्डरमा ल्याउनुपर्छ । यहाँ विमानस्थल बनाउने भनेर जंगलमात्रै मासिरहने । हुकुमबासी ओईरिएर जग्गा कब्जा गर्ने । सारा एरिया सुरक्षित गर । जंगल हुर्काउनुपर्ने ठाउँ हुर्काउ, अहिले चाहिनेमात्रै लिएर काम सुरु गरौं भनेको छु’

पौडेलले एयरपोर्ट बने बनोस नबनेजस्तो व्यवहार हुन नहुने धारणा राखे । उनले भने,‘मैले यहाँ आएर हेर्दा र बुझ्दा राम्रो नियत देखिनँ । हामी दुवै थरी बिग्रिएका छौं । यति लामो समयसम्म यतिसम्म राखेर, पैसा खर्चमात्रै भैरहेको छ ।

तथाकथित नाममा करोर्डौं रुपैयाँ खर्च भएको छ। समयमै काम ठ्याक्कै काम सुरु गर भनेर भन्छु । एयरपोर्ट बनाउन डोजर चलाईहाल । जंगल बनाउनकोलागि राज्यले सुरुक्षा देउ । जंगल पनि बचाउ । एयरपोर्ट पनि बनाउ । जडिबुटीको जग्गा छ, त्यहाँ यहाँका टाँगियावस्तीका वासिन्दाहरुलाई स्थानान्तरण गर । नेपालमा त सुुकुम्वासी राजनीति हुन्छ। यो गलत हो ।’

 

प्रतिक्रिया