रणभूमि बन्यो बानेश्वर

admin

काठमाडौं, ५ फागुन : बानेश्वर क्षेत्र बुधबार तनाव ग्रस्त बन्यो। प्रदर्शनकारीले संघीय संसद् भवनलाई चारैतिरबाट घेरे।

संसद्मा अमेरिका सहयोग परियोजना (एमसीसी) टेबल गर्ने माहोल थियो। त्यसविरुद्ध सत्ता पक्ष नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य विपक्षी ६ दलले प्रदर्शन गर्‍यो।

प्रदर्शनकारीले निषेधज्ञा क्षेत्र तोड्दा प्रहरी र उनीहरूबीच झडप भयो। प्रहरीले पानीको फोहोरालगायत अश्रुग्याससमेत प्रहार गर्‍यो।

प्रदर्शनकारीले जवाफमा प्रहरीमाथि इँटा, ढुंगा वर्षाए। हेर्दाहेर्दै बानेश्वर क्षेत्र रणभूमि मैदानमा परिणत भयो। आन्दोनमा सत्ता पक्ष माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसमेत सडकमा आए।

संसद् भावन अगाडिबाट प्रहरीले एक सय जनालाई प्रदर्शनकारीलाई नियन्त्रणमा लियो। त्यस्तै, एमसीसीविरुद्ध प्रदर्शन गरेका र बन्द गराउन हिँडेका १५३ जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले बताए।

‘संसद् भवनअघिको निषेधित क्षेत्र आन्दोलनकारीले तोडे। अवस्था नियन्त्रणमा लिन पानीको फोहोरा हान्नुपर्‍यो,’ उनले भने, ‘प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा प्रहार गर्दा डीएसपीसहित १५ जना प्रहरी घाइते भए।

त्यसपछि अवस्था नियन्त्रण लिन १० सेल अश्रुग्यास प्रहार भयो।’ उनका अनुसार झडपमा २ जना प्रदर्शनकारी घाइतेसमेत भएका छन्।

संघीय संसद् भवन प्रवेश गर्ने १ नम्बर गेट अगाडि प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीसँग घम्साघम्सी भएको हो।

प्रदर्शनकारी ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती एमसीसी सम्झौता फिर्ता गर’ भन्दै चर्को नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

प्रतिक्रिया