निहारीका आफूलाई बलात्कार गर्ने युवकलाई कारबाही गर्नुको साटो अदालतले सफाई दिएको भन्दै मिडियामा आईन्, तत्काल कारवाही गर्न माग

admin

काठमाडौं, ५ फागुन : कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारीका राजपुतले आफूमाथि भएको बलात्कार मुद्दामा अदालतले आरोपितलाई सफाई दिएकोमा आपत्ति जनाएकी छिन् ।

आज (बिहीबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्र्दै राजपुतले आफुलाई बलात्कार गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाई दिएर आफुमाथि अदालतले अन्याय गरेको दुःखेसो पोखिन् ।

निहारिका राजपुतले राज्यले आफुलाई न्याय नदिए आत्महत्या गर्नेसमेत चेतावनी दिईनु् । उनले साथीले बोलाएर घरमा गएको बेला आफुलाई जुस खुवाएर अचेत बनाएर साथीको दाजु शिवराजले बलात्कार गरेको स्मरण गराईन् ।

आफुले केही नखोजेको भन्दै युवकले सजाय पाएमा मात्र आफुलाई न्याय मिल्ने उनको भनाई थियो । उनले भनिन,‘मैले युवकसँग अरु केही मागेको छैन्, उसले सजायमात्र पाउनुपर्यो अरु केही चाहिँदैन् । मेरो ईज्जत त गईसक्यो, अरु के बाँकी छ र ?’

उनले आफु कुनैपनि हालतमा नमर्ने र सरकारलाई न्याय दिन बाध्य बनाउनेसमेत जिकिर गरिन् । उनले भनिन्,‘एउटा शिवराजलाई मार्न पाए धेरै शिवराज डराउँछन् ।’ युवकको परिवारले पहिला आफ्नो कुरा नसुनेपनि अहिले भने आफुलाई स्विकार गर्ने कुरा आफन्तले सुनाएपनि युवकसँग विवाह गर्ने पक्षमा भने आफु नभएको उनले स्पष्ट पारिन् । उनको अहिले डेढ वर्षको छोरा छन् ।

बच्चा पेटमा भएको २ महिनादेखि प्रहरी कार्यालयमा जाँदापनि आजसम्म न्याय नपाएको उनको भनाई थियो । बल्लबल्ल ३ महिनापछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको र मुद्दा दर्ता भएपछि केटा फरार भएको उनले बताईन् ।

उनले डेढ वर्षपछि भदौमा आरोपित युवा पक्राउ परेपनि जिल्ला अदालत धनुषाले सफाई दिएको भन्दै आपत्ति जनाइन् । ‘ममाथि अन्याय भएको छ, म कलंकित भएको महसुस गरेको छु ।’–उनले भनिन् ।

महिलाको न्यायको निम्ति बनेको आयोग महिला आयोगले आफुलाई सहयोग नगरेको पनि उनको गुनासो छ। उनले भनिन्,‘महिला आयोगले आफुलाई पटक–पटक बच्चा फाल्न भनेको थियो, तर मैले मानिनँ ।’ अब राज्यले आफु र बच्चाको ज्यानको सुरक्षा र पीडकलाई कारवाही गरे आफुले न्याय पाएको महसुस हुने उनको भनाई थियो ।

उनले आफुलाई बलात्कार गर्ने युवक प्रेमी नभएको पनि स्पष्ट पारिन् । बेहोस बनाएर बलात्कार गरेको र आफु होसमा आउँदा जिउमा लुगा नभएको पाएको समेत उनले सुनाइन् ।

उनले भनिन्,‘आफ्नो ज्यानमा कपडा नदेखेपछि म चिच्याएर कराउँदा मेरो नाङ्गो फोटोहरु देखाएर धम्काएपछि म डराएँ ।’ यसमा युवकको बहिनीको पनि मिलेमतो भएको उनले जिकिर गरिन् ।

निहारिकाले डिएनए टेस्ट गर्न पनि युवक नमानेको सुनाईन् । युवकले आफुलाई धम्काएको सबै प्रमाणहरु सुरक्षित रहेको पनि उनको भनाई छ ।

उनले अदालतले भने उक्त मुद्दामा ‘युवक र युवतीको मिलेमतोमा भएको शारिरीक सम्बन्ध’ भनेर केटाले सफाई पाएकोमा दुःख व्यक्त गरिन् । उनले भनिन्,‘धनुषा अदालतका न्यायाधिश परशुराम भट्टराईले युवकलाई सफाइ दिएका हुन् ।’

उनले आफ्नो पक्षमा न्यायको लागि बोल्ने कोही नभएको भन्दै गुनासो पोखिन् । उनले भनिन्,‘पैसा, बाइक चोरी गरेको र लागुऔषधको मुद्दामा पनि युवकमाथि मुद्दा चलेको रहेछ, मलाई यो कुरा पछि थाहा भयो ।’ परिवारले आफुलाई घरमा लगेमा समुदायबाट बञ्चित गर्ने भनेपछि आफ्नो जन्मघरमा पनि नगएको भन्दै उनले दुःख पोखिन् ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी सावित्री सुवेदीले निहारीकाले न्याय नपाउनु दुःखद् भएको भन्दै उनको माग सुनुवाई गर्न सरकारसमक्ष आग्रह गरेकी छिन् । निहारिकाले न्याय नपाए अबको विकल्प आत्महत्यामात्रै भएको भन्नुले पनि निहारिका कति पीडामा र तनावमा छिन् भन्ने कुरा दर्शाएको सुवेदीले उल्लेख गरिन् ।

उनले भनिन,‘अब उनको जाने ठाउँ छैन्, कुनै पनि महिलाले न्याय नपाउने देश हो नेपाल ।’ योगमायाले महिला अधिकारको लागि लडेको धेरै भएपनि आजसम्म न्याय नपाएको स्मरण गराउँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पीडित महिला भएर सोच्न आग्रह गरिन् । उनले भनिन्,‘कहिलेकाँही महिलाको बारेमा पनि सोच्ने गर्नुहोस्, खाली भत्ता पचाउने र तलब खानेमात्र काम नगर्नुहोस् ।’

यदि निहारिकालाई सरकारले न्याय दिन नसक्ने हो भने गोली ठोक्न पनि सुवेदीले आग्रह गरिन् । उनले महिलालाई पुरुषले यौनको साधन रुपमा मात्र प्रयोग गर्ने गरेको आरोप पनि लगाइन् ।

सुवेदीले निहारिकाको न्यायको लागि आफु बिगत २ वर्षदेखि लागेको पनि जानकारी दिइन् । देशभरिका अधिकारकर्मीले निहारिकालाई सहयोग गर्नुपर्ने उनले धारणा राखिन् । उनले भनिन,‘एउटा कुमारी आमालाई सरकारले न्याय दिनुपर्छ र न्याय नपाएमा उनलाई धेरै गाह्रो हुन्छ ।’

 

प्रतिक्रिया