पोखराको पहिलो केबुलकार आज बाट संचालनमा

admin

काठमाडौं, ६ फागुन: पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केवलकार व्यवसायिक रुपमा आज देखि संचालनमा आएको छ । पोखराको पहिलो केवलकारको सफ्ट ओपनिङका साथ संचालनमा आएको हो ।

केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङ्कोट डाडाँमा पुग्न सकिने छ ।

नेपालीहरुका लागि केवलकारमा जाने आउने शुल्कः ७ सय, सार्क राष्ट्रका पर्यटकलाई ८ सय र अन्य विदेशीहरुलाई भने ८ डलर शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिकको लागि ५० प्रतिशत र बिद्यार्थीहरुको लागि २५ प्रतिशत छुटको व्यबस्था गरिएको निर्देशक त्रिपाठीले जनाए ।

१३ बर्षको आफ्नो सपना हाल सकार भएको बताउदै त्रिपाठीले जग्गा बिबाद, कोरोना सहितको प्राविधिक कारणले उक्त केवलकार संचालनमा आउन समय लागेको बताए ।

जापानीज निपुन केवलका टिम लिडर ओचीआईको नेतृत्वमा ७ सदस्य टोली हालै उक्त केवलकारको सफल परिक्षण गरेसंगै व्यवसायिक रुपमा संचालन गर्न लागेको त्रिपाठीले जनाए ।

परियोजनाका प्राविधिक इन्चार्ज डि.एन.कायस्थले उक्त केवलकार अत्याधुनिक प्रविधि जडान भएकोले सुरक्षाको दृष्टिले निकै मजबुद भएको दाबी गरे ।

परियोजनामा हाल २ अर्ब लगानी भएको निर्देशक त्रिपाठीले बताए । २.४ किलोमिटर दुरीमा हाल १८ वटा टावर रहेका छन् भने एक सामान वोक्ने सहित १८ वटै गुण्डला (डिब्बा) जडान भएको जनरल म्यानेजर दिनेश पौडेलले बताए ।

प्रति डिब्बामा ८ जनाको सिट क्षमता रहेको छ भने प्रति घण्टा ५ सय जना यात्रु ओहोर दोहोर गर्न सकिने छ । कम्पनीले पूर्ण व्यावसायिक रुपमा केवलकार संचालन भएसंगै ८० जनालाई प्रत्यक्ष रुपमा रोजगार दिने भएको छ ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफुहरुले विकसित गर्न खोजिएको त्रिपाठीले बताए ।

उक्त केवलकारमा करिब ३६ वटा भन्दा बढी डिब्बा क्षमताको भएको उनले जनाए । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी, पूर्व जापानी नागरिक टाकासी मियाहारा र स्थानीयको लगानी रहेको प्रालिले जनाएको छ ।

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन् । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो ।

नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार तल्लो तथा माथिल्लो स्टेशनमा १५÷१५ रोपनी सहित करिब ७५ रोपनी जग्गा खरिद गरिएको छ ।

प्रतिक्रिया