लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको भन्दै राप्रपा नेपालका पदाधिकारी मिडियामा

admin

काठमाडौं, ६ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले पार्टीका राष्ट्रिय अध्यक्ष प्रदिप विक्रम राणाले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको जानकारी गराएका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप लगाए ।

साथै, उनले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको स्पष्ट पारे । राप्रपा नेपाल कमल थापाले बनाएको पार्टी नभएको भन्दै थापाले ‘आफ्नै घरमा फर्किएँ’ भन्न नमिल्ने उनको तर्क थियो । यस्तै, राजसंस्था र हिन्दुराष्ट्र सखाप पार्नको लागि थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि राणाको आरोप छ ।

‘यस कदममा ९५ प्रतिशत केन्द्रीय पदाधिकारीको असहमति रहेको छ । निर्वाचन आयोगले कसरी यस्तो निर्णय गर्यो ? यसको जवाफ निर्वाचन आयोग र लाक्पा तामाङले पनि दिनुपर्छ । न्यायलयले पनि हामीलाई न्याय दिनुपर्छ,’–उनले भने ।

यस्तै, कमल थापा पटक–पटक बिक्री भएको मान्छे भएको आरोप लगाउँदै उनले भने, ‘कहिले म गणतन्त्रवादी भइसकें भन्ने ? कहिले ज्ञानेन्द्रलाई मान्दैन् भन्ने ? अनि अहिले अर्काको घरलाई मेरो घर भन्ने ?, उहाँले एकपछि अर्को गरेर असंवैधानिक र गलत कदम चाल्नुभएको छ ।’

साथै, उनले अहिले देशको अवस्था विकराल भएको भन्दै अहिले देश बुवाबिहीन भएको पनि बताए । फागुन ७ गते राष्ट्रिय सभामा घोषणासभा गर्ने भनेका थापालाई मुसा प्रवृत्ति छोड्न आग्रह गर्दै राणाले बरु हिम्मत भए नयाँ पार्टी बनाउन सुझाव दिए ।

कार्यक्रम सञ्चालक तथा पार्टीका उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरुको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे ।

साथै, उनले लाक्पा तामाङको कदम आफुहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी द्यिए । उनले भने,‘६०-४० को समिकरण बनाएर कमल थापासहितको ठूलो टिम हाम्रो पार्टीमा प्रवेश हुँदैछ तर, हाम्रो पार्टीको सिद्धान्त कतै जाने छैन् भनेर हामीलाई झुटो कुरा बोलियो ।’

युवाहरुले अगाडि बढाईरहेको पार्टीलाई अबका दिनमा पनि युवाहरुले नै अगाडी बढाउनुपर्ने उनले माग गरे । कमल थापा अध्यक्ष भएको कुरा अवैधानिक रहेको भन्दै अध्यक्ष तामाङले पार्टीका पदाधिकारीहरुलाई अबमूल्यन गरेको पनि उनको आरोप थियो ।

यस्तै, उनले पार्टी र नेतृत्वप्रतिको आफूहरुको भरोशालाई कतिमा बेच्नुभयो ? भन्दै तामाङमाथि प्रश्न उठाएका थिए । पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भएपनि चरित्र कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्विकार गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।

‘हामीले गर्वका साथ राजसंस्था र हिन्दुराष्ट्र भनेर हिँडिरहेका थियौं र आजपनि यही एजेण्डामा अडिग छौं । तर, एकाएक हामीलाई गणतन्त्रवादी बनाइयो’–उनले भने,‘यो कुरा हामीलाई कदापि मान्य छैन् ।’

सिंगो पार्टी र पदाधिकारीलाई कुनै जानकारी नदिएर गोप्य रुपमा पार्टीको साँचो अरु कसैलाई बुझाइएको भन्दै उनले दुःख व्यक्त गरे । साथै, अहिलेको अवस्थामा नेताहरुलाई कसैले सम्मान नगर्ने अवस्था आएको भन्दै उनले राजाप्रतिको जनताको सम्मानलाई स्मरण गराए ।

केन्द्रीय उपाध्यक्ष राम गोपालीले परिवर्तनका संवाहक युवाहरुले चलाइरहेको पार्टीलाई रातारात गणतन्त्रवादी बनाईएको भन्दै आफुहरु कमल थापाको बुट समातेर लाक्पा तामाङसँग सति जान नसक्ने बताए । युवाहरुको सपनामाथि कुठराघात गर्नुथियो भने किन हाम्रो सपना मार्नुभयो ? भन्दै प्रश्न उनले पनि तामाङमाथि प्रश्न गरे ।

यस्तै, उनले ६०-४० को झूँटो आस्वासन दिएर उपस्थित नभएकाहरुको हस्ताक्षर किर्ते गरेर निर्वाचन आयोगमा गएर कमल थापालाई पार्टी सुम्पिएको आरोप लगाए । ‘कसैले विचार बेचेर झोला भर्यो होला । तर, राप्रपा नेपाल कहीँ पनि समाहित भएको छैन्’–उनले भने ।

राप्रपा नेपाल धरानका नेतृत्वकर्ता दोर्जे शेर्पाले लाक्पा तामाङले आफुलाई मिठो सपना देखाएर धोका दिएको भन्दै आफुले राजसंस्था र हिन्दुराष्ट्रलाई कहिल्यैपनि नत्याग्ने बताए ।

त्यस्तै, महामन्त्री राजु नापितले सनातन हिन्दुधर्म र राजसंस्थाको एजेण्डा बोकेको राप्रपा नेपाललाई कति पैसामा बच्नुभयो ? भन्दै तामाङमाथि प्रश्न गरेका थिए ।

नागरिक समाजको तर्फबाट हेमविक्रम शिलवालले लाक्पा तामाङले छापामार शैलीमा राप्रपा नेपालका पदाधिकारीलाई थाहा नदिएर गरेको अन्यायप्रति दुःख व्यक्त गर्दै न्यायालयले न्याय दिन्छ भन्नेमा आफु विस्वस्त रहेको बताए । साथै, उनले गाई रातारात कसरी गोरु भयो ? भन्दै प्रश्न उठाएका थिए ।

प्रतिक्रिया