ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

admin

काठमाडौं, ७ फागुन: स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, बरिष्ठ संगीतकार राजु सिंहलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो ।

एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसरमा वर्थ डे केके पनि काटिएको थियो ।अल्टा ग्राफिक्सका प्रमुख सल्लाहाकार तीर्थराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा अथितिहरूले स्रष्टा कैनीको साहत्यिक व्यक्तित्वका बारेमा उहाँको सार्वजनिक गजल एल्वम ‘मञ्जरी’का बारेमा आ-आफ्ना भनाइ राख्दै शुभकामना तथा बधाई दिनुभएको थियो । एल्बम ‘मञ्जरी’का बारेमा संगीतकार राजु सिंहले संमिक्षा गर्नुभएको थियो ।

सार्वजनिक गजल एल्बममा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिंगो रात’ जस्ता गजल समेटिएको छ । कार्यक्रममा एल्बमा रहेका दुई गीतको भिडियो पनि पदर्शन गरिएको थियो ।

यि भिडियो मध्ये एउटा भिडियो शुक्रबार नै सागर अधिकारी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।एल्बममा रहेका गीतमा सत्यराज आचार्य, मिलन नेवार, सागर अधिकारी ‘शरद’ र निशा देसारको स्वर रहेको छ भने सागर अधिकारीको एकल संगीत र शाहस शाक्य तथा संजय श्रीपालकोे संगीत संयोजन रहेको छ ।

शुक्रबार सार्वजनिक भिडियोमा शुरेन बस्यालको निर्देशने छ भने केकी अधिकारी, प्रिन्स विश्वकर्मा, महेश खड्का, रवीना केसी र शिला गजुरेलको अभिनय रहेको छ । उत्सव दाहलको छायांकन रहेको भिडियोमा विकास दाहलको सम्पादन छ ।

पछिल्लो समय साहित्य लेखनमा सक्रिय ज्ञान्दरी कैनीको यो पहिलो सार्वजनिक गजल संग्रह एल्बम हो । २०४७ सालमा मधुपर्कमा पहिलो गजल प्रकाशन गर्नुभएको ज्ञान्दरी गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेखनमा सक्रिय हुनुहुन्छ । साझा प्रकाशनलगायत विभिन्न संघ संस्थामा आवद्ध ज्ञान्दरी अल्टा ग्राफिक्स प्रिन्टिङको सञ्चालक पनि हुनुहुन्छ ।

सञ्चारकर्मी राधिका अधिकारीले सहजिकरण गरेको एल्बम सार्वजनिक समारोहमा एल्बममा सँग जोडिएका विभिन्न व्यक्तित्वलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो भने गायक तथा संगीतकार सागर अधिकारी शरदलाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया