नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक, यस वर्ष ६,२८५ जना पीडित

admin

काठमाडौं, ७ फागुन:  नेपालमा सन् २०२१ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट ६ हजार २ सय ८५ जना पीडित बनेको अनौपचारीक सेवा केन्द्र इन्सेकले जनाएको छ ।

इन्सेकले शनिबार मानवअधिकार बर्ष पुस्तक २०२१ सार्वजनिक गर्दै मानवअधिकार उल्लंघन घटनाको संख्या सार्वजनिक गरेको हो । सन् २०२१ मा महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्‍यवहार घटनामा ३ हजार ४ सय १७ जना पीडित भएका छन् ।

यस वर्ष बेचबिखनका प्रयासका घटनामा १६ जना, घरेलु हिंसाका घटनामा २ हजार ९५ जना, कथित बोक्सीको आरोपमा ३१ जना, बलात्कारका घटनामा ६ सय ४९ जना, बलात्कार प्रयासका घटनामा १ सय ७७ जना, यौन दुर्व्‍यवहारको घटनामा ६१ जना महिला पीडित भएको तथ्यांक रहेको छ ।

सन् २०२१ मा बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ५ सय ५५ जना पीडित भएका छन् । जसमध्ये बलात्कारका घटनामा १ हजार ४३ , यौन दुर्व्यवहारको घटनामा ३ सय ८३ , विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा १५ जना बालबालिका पीडित भएको पाइएको छ ।

त्यस्तै सन २०२१ मा देशभरका कारागारमा ७४ कैदीबन्दीको मृत्यु भएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले जानकारी दिनुभयो । उहाले कारागार र बालसुधारको क्षेत्रमा पनि परिणाममुखी काम हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष तप बहादुुर श्रेष्ठले मानवअधिकार हननका घटनामा कारवाही सिफारिस गर्दा पनि राज्यले कारवाही गर्न नसकेको बताउनुभयो । उहाले दण्डहिनताको अन्त्य गर्न राज्य पनि गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै इन्सेकले सन २०२१ मा ३३ वटा अपहरणका घटना, ३५ गिरफ्तारीका घटना र २ सय ६६ कुटपीटका घटना भएको जनाएको छ । यसै अवधिमा जातिय बिभेदका २८ घटना भएको इन्सेकले जनाएको छ ।

प्रतिक्रिया