काठमाडौं, १० फागुन: निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ ।
आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए ।
मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।
निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय ९ पुगेको छ । कानुन बमोजिम आयोगमा दर्ता हुने दलको संख्या १ सय ९ पुगेको आयोगले जनाएको छ ।
पछिल्लोपटक नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुनबमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली)साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता गरिएको आयोगले भनेको छ ।
आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको जनाएको छ ।
जनमत पार्टी, मंगोल नेसनल अर्गानाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराएका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।