काठमाडौं, १० फागुन: प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले वैदेशिक रोजगारीमा पठाउने भन्दै सरकारले तोकेभन्दा बढी शुल्क उठाउने र विदेशसमेत नपठाउने सो म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्नसमेत निर्देशन दिएको छ ।
बैठकमा स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति रु पाँच लाख १० हजार बढी रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल भएको थियो । उक्त म्यानपावर कम्पनीमाथि भएको कारबाहीको विवरण पठाउन पनि समितिले विभागलाई निर्देश गरेको छ ।
समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘श्रम डेस्क’लाई प्रभावकारी बनाउन आग्रह गरेको छ । छलफलमा सहभागी विभागका महानिर्देशक शेषनारायण पौडेलले ठगीमा परेका युवाको उजुरीमाथि तत्काल छानविन गरी उनीहरुको रकम फिर्ता गरिने बताउनुभयो ।
सुरज रानालगायत १३ युवाले सो म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी चर्को रकम उठाएर विदेश नपठाएको र आफूहरुले बुझाएको रकम पनि फिर्ता नगरेको भन्दै कारबाहीका लागि समितिमा उजुरी दिएका थिए ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले राज्यले आफूहरुको समस्यमाका बारेमा गम्भीरता दिन नसकेको गुनासो गरेका थिए ।