काठमाडौं, १० फागुन: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी एमाले अध्यक्षसहितका नेतासँग बालुवाटारमा छलफल गरेका छन्।
प्रतिनिधिसभामा टेबल भएको एमसिसीको विषयमा कुराकानी गर्न प्रधानमन्त्री देउवाले विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई मंगलबार साँझ बालुवाटारमा बोलाएका थिए।
बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्षसहित नेताहरूको बैडक सकिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न सहयोग मागेका छन्।
‘एमसिसी पारित गर्न सघाउनुस् तपाईंहरूले नै हो पेश गरेको, सरकार निरन्तर उत्तराधिकारी संस्था हो भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ देउवालाई उद्धृत गर्दै एमाले उपाध्यक्ष पौडेलले भने। जवाफमा एमाले अध्यक्ष ओलीले भनेको कुरा उद्धृत गर्दै पौडेलले भने, ‘हामीलाई संसदमा उपस्थित हुने वातावरण बनाउनुस्।’
प्रधानमन्त्री देउवासँगको छलफलमा ओलीले एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने पुरानै अडान दोहोर्याएको पौडेलले बताए।
जवाफमा प्रधानमन्त्री देउवाले पहिला एमसिसी पारित गर्न र सांसदको सूचना टाँस गर्ने कुरा दोस्रो प्राथमिकता रहेको बताएको पौडेलले जानकारी दिए। प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओली मंगलबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुगेका थिए।
सत्तारूण गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।