​​​​​​शिवरात्रिमा भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

admin

काठमाडौं, ११ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन्।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेले आज कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिए। उनले भने, ‘भव्य र सभ्यरुपमा महाशिवरात्रि मनाउन सबै लागि परौँ।

भक्तजनलाई कुनै पनि कुराको कमी नआवस्।’ महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरुले सजाएर रङ्गीचङ्गी तथा झकिझकाउ पार्न समेत मन्त्री आलेले निर्देशन दिए।

पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्‍याउन एम्बुलेन्सको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिए। यसैगरी, मन्त्री आलेले पशुपति क्षेत्रमा पर्खालमा गरिन लागेको भगवानका चित्र निर्माणका कार्य तत्काल सक्नसमेत निर्देशन दिए।

यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १७ गते मंगलबारका दिन परेको छ। यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा पनि १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। रासस

 

प्रतिक्रिया