देशभर एक महिना सङ्कटकाल लगाउने युक्रेन सुरक्षा परिषद्को निर्णय

admin

युक्रेनले देशभर सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । केहीबेरअघि सम्पन्न सुरक्षा परिषद् बैठकले आउँदो ३० दिनका लागि सङ्कटकाल घोषणा गर्ने निर्णय गरेको युक्रेनका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सुरक्षा परिषद्को निर्णय युक्रेनको संसद्ले अनुमोदन गरेपछि लागू हुन्छ । रुसले युक्रेनका विवादित क्षेत्रमा सेना पठाइसकेको र सम्भावित आक्रमणको खतरालाई ध्यान दिएर युक्रेनले सङ्कटकाल लगाउन लागेको हो ।

यस्तै सुरक्षा परिषद् बैठकले १८ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई सैनिकको रूपमा खटिन तयारी रहन आह्वान गरेको छ ।

यस्तै युक्रेनले रुसमा रहेका आफ्ना ३० लाख नागरिकलाई तत्काल रुस छाड्न अनुरोध गरेको बीबीसीले जनाएको छ ।

रुसले हिजो मङ्गलवार युक्रेनबाट छुट्टिएका दुई विवादित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर विद्रोहीहरूलाई सहयोग गर्न आफ्ना सैनिक पठाएपछि रुस–युक्रेन युद्धको सम्मुखमा पुगेका छन् । अमेरिका, बेलायतसहित पश्चिमा देशहरूले रुसी बैंक र संसदमाथि प्रतिबन्ध लगाएका छन् ।

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेन सङ्कटको कुटनीतिक समाधानका लागि आफू अझै पनि तयार रहेको बताउनुभएको छ । तर वार्ताका लागि तयार भए पनि रुसको हित र रुसी नागरिकको सुरक्षामा सम्झौता गर्न भने नसक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया