काठमाडौं, १२ फागुन: नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिलेकै स्थितिमा पास गर्ने भए अमेरिकी सहयोग परियोजना (एमसिसी)को विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने बताएका छन्।
बिहीवार सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरुको बैठकमा खनालले उक्त कुरा बताएका हुन्।
छलफलमा एमसिसीबारे आफ्नो पार्टीले बिनासंशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरुलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप दिने सम्मानित नेता खनालले बताए। उनले एकीकृत समाजवादी सुरुदेखि नै परिमार्जनबिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको स्मरण गराए।
‘सामाजवादीको स्ट्याण्ड सुरुदेखि अन्तिमसँग क्लियर छ‚ नो एमसिसी। विथ आउट एनी चेन्ज अर एमेनमेण्ट नो एमसिसी‚’ खनालले भने‚ ‘हामी दुई पार्टी जहिलेसुकै पनि एउटै स्ट्याण्डमा छौँ। त्यो भनेको परिमार्जन बिनासंशोधन हामी एमसीसी पास गर्दैनौँ।’