प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बीचको छलफल

admin

काठमाडौं, १२ फागुन: मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट, (एमसिसी)बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताउनुभयो ।

एमसिसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्ने उहाले बताउनुभयो । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा संसद् सुचारु भई एमसिसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ ।

उहाँले समयसीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको हितका लागि आवश्यक एमसिसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने उहाँले बताउनुभयो ।

त्यस्तै कांग्रेसका महामन्त्री गगनकुमार थापाले छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसिसीलगायतका विषयमा खुला छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिएको बताउनुभयो ।

उहाले एमसीसी देशको बिषय भएको भन्दै यसलाई समर्थन गर्न र सदनलाई सुचारु गर्न एमालेसंग आग्रह गरिएको बताउनुभयो । उहाले एमसीसी प्रकरणमा पाँच दलीय गठबन्धनको औचित्य सकिएको तर्क गर्नुभयो ।

दलीय सहमतिका लागि गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच पुनः छलफल हुने नेता थापाले जानकारी दिनुभयो ।

बिहीबार १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगन भए पनि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो ।

प्रतिक्रिया