सकियाे बालुवाटारकाे एमाले-कांग्रेस वार्ता, वार्ता निष्कर्षविहीन

admin

काठमाडौं, १२ फागुन: प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल विना निष्कर्ष टुंगिएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कुनै निर्णय हुन नसकेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

भेटमा देउवाले ओलीसँग एमसीसी पारितका लागि आग्रह गरेका थिए । जवाफमा ओलीले आफ्ना पुरानै अडान दोहोर्‍याएका थिए ।

“प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसहित नेताहरूसँग दिउँसो पनि लामो छलफल भयो, अहिले पनि लामो छलफल भएको छ । प्रधानमन्त्री देउवाले सबैको सहयोगमा एमसीसी सम्झौतालाई संसद्बाट निकास दिने कुरा गर्नुभएको छ,” उनले भने,”तर, उहाँहरूले पुरानै कुरा गर्नुभयो ।”

ओलीले आफूहरूका माग सम्बोधन गरेर संसदीय क्रियाकलापमा भाग लिने व्यवस्था मिलाउन आग्रह गरेको कार्कीले बताए ।”हामीले जुन कुराले संसद्मा प्रवेश पाएका छैनौँ ।

त्यो समस्या समाधान नभएसम्म हामीले संसद्मा आएर कुरा राख्ने सम्भावना रहँदैन । त्यसैले संसद्मा पहिले हाम्रो सहभागिता हुने व्यवस्था गर्नुहोस्,” ओलीको भनाइ उद्धृत गर्दै उनले भने ।

मन्त्री कार्कीले शुक्रबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने पनि बताए ।एमाले नेता विष्णु रिजालकाअनुसार पनि ओलीले छलफलमा आफूहरूले राख्दै आएका अडान कार्यान्वयनका लागि जोड दिएका थिए ।

छलफलमा ओलीसहित एमाले नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । सत्तारूढ दलका तर्फबाट देउवासहित सञ्चारमन्त्री कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा थिए ।

 

प्रतिक्रिया