शिवरात्रिका लागि पशुपति मन्दिर झकिझकाउ

admin

काठमाडौं, १६ फागुन: भोलिको शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो ।

यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । शिवरात्रिमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

भीडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष तथा शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीका अनुसार भक्तजनका लागि विशेष सुरक्षा योजना बनाइएको छ ।

भोलि पशुपति क्षेत्रमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति खटिने छन् । यस्तै, मेला क्षेत्र र दर्शन मार्गमा सीसीटीभी क्यामरा जडान गरिने छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने छ । यस्तै, झण्डै ५ हजारको सङ्ख्यामा स्वयम्सेवक परिचालन गर्ने तयारी छ । मन्दिर दर्शनका लागि तीन वटा दर्शन मार्ग व्यवस्था गरिने छ।

गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ । यस्तै, मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एयरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको छ ।

यसैगरी आवश्यता परे तिलगङ्गा राममन्दिरतर्फबाट समेत लाइनको व्यवस्था मिलाउने पशुपति क्षेत्र विकास कोषको तयारी छ । यस्तै, गाडीको व्यवस्थापनका लागि ५ ठाउँ कोषको कार्यालय, महानगरीय प्र ह री वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई भगवान शिवजीको जन्मदिनका रूपमा लिइन्छ । सनातन हिन्दु धर्मावलम्बीहरूले भोलि बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्ने गर्छन् ।

 

प्रतिक्रिया