मनाङका मुख्य प्रशिक्षक फुजाले दिए राजीनामा

admin

काठमाडौं, १७ फागुन: ‘ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीका मुख्य प्रशिक्षक तोपे फुजाले राजीनामा दिएका छन्।

नाइजेरिन प्रशिक्षक फुजाले मंगलबार क्लबसमक्ष राजीनामा पत्र बुझाएका हुन्। यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजनका लागि फुजा मनाङमा आवद्ध भएका थिए।

कोरोना महामारीका कारण २०६७ मा लिग नभएपछि उनी गृहनगर रहँदै आएका थिए। लिग हुने तयारी भएसँगै फुजालाई मनाङले नेपाल झिकाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन।

उनी लिगमा मनाङले तीन खेल खेल्दा मंसिर २१ मा काठमाडौं आइपुगेका थिए। यद्यपि, टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ थिए।

फुजाको आगमनपछि पनि मनाङको मुख्य प्रशिक्षकमा भने तामाङ नै रहेका थिए। लिगमा मनाङ पाँचौ भएको थियो। मनाङले १३ मध्ये केवल ६ खेलमा जित हात पार्दा ३ खेलमा बराबर तथा ४ खेलमा पराजय भोगेको थियो।

उनको नेतृत्वमा मनाङले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो। उक्त उपाधि जितेसँगै नेपालको शीर्ष श्रेणीको लिगमा मनाङले कीर्तिमानी आठौं उपाधि उचालेको थियो।

सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ‘ए’ डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए। त्यसपछि भारतमा रहेका उनले सिमला योङ, मुम्बई युनाइटेड, मोहम्मडन स्पोर्टिङ र चेन्नई एफसीको टोली सम्हालेका थिए।

त्यसपछि उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए। २०७६ मा पनि उनी मनाङमै रहेका थिए, जुन सिजन मनाङ ‘ए’ लिगमा तेस्रो भएको थियो।

गत वर्ष उनी नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइजी टोली धनगढी सिटी एफसीको प्रशिक्षकमा अनुबन्धन भएका थिए। तर, फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको थियो।

प्रतिक्रिया