आगामी चुनावमा गठबन्धन हुन्छः मन्त्री यादव

admin

काठमाडौं, १७ फागुन: जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रि सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए ।

‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन गरेर जान्छ,’ मन्त्री यादवले भने,‘राष्ट्रिय सभाको चुनावको परिणाम र भागवण्डाको आधारमा आउँदा दिनहरुमा पनि पार्टी र उम्मेदवारको हैसियतलाई ख्याल गरेर गठबन्धन अघि बढेमा राम्रो प्रतिफल दिनेछ ।’

जसपाले संघदेखि सरकारसम्म अहिलेको गठबन्धनसँगै नै चुनावी गठबन्धन गर्ने बताए । राष्ट्रियसभाको चुनावमा जस्तै गठबन्धन एकढिक्का भएर चुनावमा जानुपर्नेमा उनको जोड थियो ।

सरकार सही ढंगले अघि बढिरहेकाले गठबन्धन मजबुत भएको बताए । संघ देखि प्रदेशसम्म गठबन्धन चुनावसम्म कायम हुनेमा ढुक्क हुन भने । चुनावमा गठबन्धनले भारी बहुमत ल्याउने दाबी गरे ।

संघदेखि प्रदेशसम्म नेकपाको सरकार गठन भएको र पछि नेकपा एमालेले नेतृत्व गरेपनि सोचेको जति प्रदेश न. १ मा विगतमा काम हुन नसकेको बताए । विगतमा दुई तिहाईको सरकार हुँदा पनि प्रदेश नं १ ले विकासको गति लिन नसकेको उनको भनाई थियो । केपी शर्मा ओलीले नेतृत्व गरेको दुई तिहाइको सरकारले पनि देशलाई ठोस निकास दिन नसकेको उनले टिप्पणी गरे ।

२०७२ सालमा संविधान जारी हुँदा शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखिएको भएपनि १ नं प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने शिक्षा र स्वास्थ्यसम्बन्धि जनताको काम जुन गतिमा हुन पर्ने हो सोही गतिमा विगतमा नभएको उनले उल्लेख गरे ।

उनले भने,‘१ नं प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने शिक्षा र स्वास्थ्यसम्बन्धि जनताको काम जुन गतिमा हुन पर्ने थियो त्यो गतिमा काम भएन, स्वास्थ्य र शिक्षाको अनुभुति जनताले गर्न पाएनन् र अहिले गठबन्धनका सरकारले दिइरहेको छ ।’

आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालयको संरचना र सबै कार्यहरु व्यवस्थापन भइरहेको उनले जानकारी दिए । उनले भने,‘प्रदेश १ का रहेका विभिन्न अस्पतालहरु, जिल्ला अस्पतालहरु, जनस्वास्थ्य कार्यालयहरु र स्थानीय तह अन्तर्गत रहेको स्वास्थ्य केन्द्र लगायतलाई व्यवस्थापन गर्न कार्ययोजना बनाएको छु ।’ मन्त्री यादवले आफुले १०० दिने २० बुंदे कार्ययोजना घोषणा गरेको उल्लेख गर्दै १०० दिनको योजनामा ति कार्ययोजना पुरा गर्नुपर्ने प्रतिवद्धता गरेको सृुनाए ।

कोरोना खोप सबैको पहुँचमा पुर्याएको, ८० प्रतिशतले खोप लगाएको भन्दै बुस्टर डोज लगाउने कार्यक्रम पनि सञ्चालन भइरहेको उनले जानकारी दिए । उनले भने,‘१२ देखि १८ वर्ष सम्मका किशोरहरुलाई पनि लगाउने काम अहिले भईरहेको छ र ती भन्दा साना बालबालिकालाई पनि लगाउने तयारी गरिरहेका छौ ।’

मन्त्री यादवले जसपा केन्द्रीय कार्यसमितिको बैठक भर्खरै मात्रै सकिएको जानकारी दिँदै आउँदो २८ गते संघीय परिषद्को बैठक, २९ र ३० गते केन्द्रीय समितिको बैठक र असार १ र २ गते विधानको सम्मेलन गर्ने निर्णय भएको सुनाए ।

जसपाभित्र बाहिर आएको जस्तो समस्या नरहेको बताए । मन्त्री यादवले भने, ‘मधेश जनविद्रोह गरेको उपेन्द्र यादव, तत्कालिन अवस्थामा जनयुद्धको भुमिकामा नेतृत्व गर्नुभएको र पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई यत्तिको बलियो बनाउन भुमिका खेल्नुभएका नेता अशोक कुमार राईसहितका नेताहरु एकतावद्ध हुनुहुन्छ ।’

उनले जसपा एक ढिक्का भएर अघि बढ्ने पनि स्पष्ट पारे । जसपा कुनै हालतमा नफुट्ने भन्दै नेताहरु एकढिक्का भएर बढिरहेको बताए । विभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धी, संविधानमा भएका त्रुटिहरुलाई संशोधन गरेर गठबन्धनमार्फत अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

 

प्रतिक्रिया