वीरेन्द्रनगरको निषेधाज्ञा हट्यो

admin

काठमाडौं, १९ फागुन : सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको जनाएको छ ।

निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्न थालेको छ । गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।

गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन राति सवा ८ बजेदेखि मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

कर्फ्यु हटाएर सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । शान्ति, सुरक्षाको स्थिति सामान्य अवस्थामा आएकाले निषेधाज्ञा पनि हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया