संघले दियो उडान रोक्ने चेतावनी

admin

काठमाडौं,२१ फागुन : सरकारले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै अहिले वायुसेवा सञ्चालकहरूले असन्तुष्टि जनाउँदै हवाई उडान रोक्नेसम्मको चेतावनी दिएका छन् ।

बिहीबार नेपाल आयल निगमले भाउ बढाएर सार्वजनिक गरेको नयाँ मूल्य अनुसार हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ ।

वायुसेवा सञ्चालक संघ नेपालले निगमले बढाएर कायम गरेको नयाँ मूल्यअनुसार प्रतिलिटर १० रुपैयाँ भन्दा बढी नाफा लिएर इन्धन बिक्री गरेमा आफुहरूले इन्धन नै खरिद नगर्ने र आन्तरिक उडान सेवा नै बन्द गर्नेसम्मको चेतावनी दिएको हो ।

निगमले १० रुपैयाँभन्दा बढी नाफा लिनुहुँदैन
संघले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार निगमले हाल हवाई इन्धनमा प्रतिलिटर २३ रुपैयाँ नाफा लिँदै आएको छ । निगमले एलपी ग्यासमा ‘क्रस सब्सिडी’ दिनका लागि ग्राहकको उद्योग, व्यवसाय, वर्गको आधारमा मूल्य समायोजन गर्न आवश्यक रहेको संघले जनाएको छ ।

कोरोना महामारीपछि बिस्तारै गति लिन थालेको हवाई उड्डयन क्षेत्रलाई राहतको व्यवस्था हुनुको सट्टा झन् अंकुश लगाएको संघको भनाइ छ ।

संघले तयार पारेको विवरणअनुसार कोभिडयता विभिन्न वायुसेवा कम्पनीले ४० लाखभन्दा बढी यात्रुलाई सेवा दिइसकेका छन् ।

पछिल्लो समय आन्तरिकतर्फ १५ हजार यात्रुले नियमित उडान सेवा लिँदै आएका छन् । संघले हवाई इन्धनलाई ‘ल्याभिस प्रोडक्ट’को रूपमा दर्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया