प्रदेश नं. १ को नाम ‘सगरमाथा किराँत’ राख्न निजीगुरु आश्रमको सुझाव

admin

काठमाडौं,२२ फागुन : किराँत धर्मगुरु निजीगुरु आश्रमले प्रदेश नं १ को नामाकरण ‘सगरमाथा किराँत’ राख्न सुझाव दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आश्रमले उक्त सुझाव दिएको हो ।

प्रदेश नं १ को लिम्बुबान, खम्बुवान, कोशी, किराँत प्रदेश, सगरमाथा प्रदेश भन्दा सिंगो देशको आत्मसम्मान हुने ‘सगरमाथा किराँत’ नाम राख्न उपयुक्त हुने तर्क गरिएको छ ।

२०७८ कार्तिक २५ गते सोह्रौ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्तीको अवसरमा पुनः अवतार मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’को हस्त बाहुलीबाट मोरङ जिल्लाको केराबारी माङहिम परिसरमा निर्मित फाल्गुनन्द प्रतिमा अनावरणलगायतका कार्यक्रममा गुरुबाट यस्तो सन्देश आएको आश्रमले जनाएको छ ।

किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेईङ’का निजी गुरु प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेश नं. १ को नामकरण सगरमाथा किराँत प्रदेश गर्न माग गरे । सरकारले गुरुहरुको विचारलाई पनि कदर गर्नपर्ने उनले धारणा राखे ।

धर्मगुरुले भौगोलिक र आध्यात्मिक आधारले प्रदेशको नाम तय भएको उनले सुनाए । कौरव र पाण्डवबीच राज्य विभाजन हुँदा इन्द्रप्रस्थ पाण्डवहरुलाई परेको स्मरण गराउँदै उनले प्रदेश १ सँगको नामाकरणसँग महाभारतको कथा मिलेको सुनाए ।

किरात धर्मगुरुलाई त्रिकाल दर्शी भनिने भन्दै उनले गुरुले राखेको नाम नै प्रदेश न. १ मा उपयुक्त हुने जिकिर गरे । उनले भने,‘सुर्यवंशी र चन्द्रवंशी दुवैलाई मान्यता दिएर संयुक्त रुपमा यो नामाकरण गरिएको छ । सबैले स्वीकार गरे आत्मसम्मान पाइन्छ ।’

उनले किराँत शब्द प्राचीन सम्भताको प्राज्ञिक शब्द भएको बताए । उनले भने,‘यो नामले विश्वभरिका नेपालीहरु, किरातीहरु र विश्वलाई नै सम्बोधन गर्ने भएकोले सर्वमान्य सिद्ध हुने मैले विश्वास लिएको छु ।’ यो नामले प्रदेश नं १ का सबै जनताको कल्याण हुने पनि उनले जिकिर गरे । उनले पछिल्लो समयमा नेपालका नेताहरु धर्मगुरुकोमा सल्लाह लिन पुगेको पनि सुनाए ।

लेखक तथा किराँत ज्योतिषविद् डा.चन्द्रकुमार सेर्माले ६ वटा प्रदेशको नाम राखिसकेको भन्दै प्रदेश नं १ नामाकरणमा अलमलमा परेको बताए । किरातहरु आफैमा समस्या बनेर अल्झेर बसेको उनको भनाइ थियो ।

आफ्नो कर्म नजानेर र धर्म नबुझेर सबैले दुख पाएको उनले सुनाए । प्रदेश नं १ को नामाकरणबारे किराँतसम्बन्धि संघसंस्थाहरु चुप बसिरहँदा धर्मगुरु आफैले आँखा खोलिदिएको उनको भनाई थियो ।

उनले भने,‘सबै किरातहरु सानोतिनो कुरामा अल्झिइरहेका छन्, किरातहरुलाई धर्मगुरुले आँखा खोलिदिनु भयो ।’ उनले आफुले किरात शब्दमा अलमलिएका मानवहरुलाई ज्ञान होस् भनेर एउटा किताब तयार पारेको पनि जानकारी दिए ।

उनले भने, ‘सबै प्राचिन इतिहासलाई आधार मानेर पुस्तक तयार पारेको छु ।’ किराँत भनेको जाति नभएर सभ्यताको नाम भएको उनले बताए ।

उनले भने, ‘किराँत साहित्य हो, भाषा हो, किरात संस्कृती हो, सभ्यता हो ।’ प्राचीन ऐतिहासिक तथ्य लेखेको कुरा कसैले मेटाउन नसक्ने पनि जिकिर गरे । किराँत शब्द पुरै नेपालीले गर्व गर्ने पनि उनले बताए ।

 

प्रतिक्रिया