सार्वजनिक गाडीकाे भाडा आफैँ बढाउने महासङ्घकाे चेतावनी

admin

काठमाडौं,२२ फागुन : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायातको भाडा आफैँले बढाउने चेतावनी सरकारलाई दिएको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक–पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैँले बढाउने चेतावनी दिनुभएको हो ।

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ ।

आज आइतवार न्युज एजेन्सीसँग कुरा गर्दै महासङ्घका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा समायोजन गर्ने बताउनुभयो ।

उहाँले महासङ्घको बैठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिनुभयो ।

यातायात व्यवसायीहरूले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाइ छ । उहाँले २५ गतेभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडा दर समायोजन नगरे सवारीसाधन चल्न नसक्ने बताउनुभयो । सिटौलाले सरकारले यातायात व्यवसायीहरूको मागको सुनुवाइसमेत नगरि नतमस्तक भएर बसेको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले सार्वजनिक सवारीसाधनलाई सहुलियत दिएकाे छैन । सरकार नतमस्तक भएर बसेको छ । राजनीतिक दलहरू आफ्नै काममा लाग्नुभएको छ ।

तल्लो वर्गका जनताले उपयोग गर्ने यातायात क्षेत्र ध्वस्त भएको छ । ठूलो अुमानित १० अर्ब रुपैयाँ लगानी भएको र १२ लाख नेपाली जनताले रोजगारी पाएको क्षेत्र ध्वस्त भएको छ । फागुन २५ गतेसम्म पछिल्लो समय निरन्तर रूपमा बढेको मूल्य वृद्धिलाई फिर्ता गर्न र विकल्प खोज्न सरकारलाई निवेदन गरेका छौँ । सरकारलाई निवेदन गर्दा पनि सरकारको प्रतिक्रिया आएको छैन । यदि हाम्रो माग सम्बोधन भएन भने सरकारले तोकेको वैज्ञानिक भाडा दरअनुसार आफैँले नयाँ भाडा समायोजन गरेर जान्छौँ ।’

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरूले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताउनुभयो ।

पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्न थालेपछि यातायात व्यवसायीले मूल्य वृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन् । सरकारले गएकाे बिहीवार राति मात्रै पेट्रोल र डिजलमा पाँच–पाँच रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रति–लिटर १ सय ५० रुपैयाँ र डिजल प्रति–लिटर १ सय ३३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया