नीर शाहलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने तयारी

admin

काठमाडौं,२४ फागुन : वरिष्ठ अभिनेता एवं निर्देशक नीर शाहलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने तयारी गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने तीनजनामध्ये एक रिक्त पदमा शाहलाई मनोनित गर्ने तयारी भएको उनीनिकट स्रोतले जनाएको छ ।

सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले शाहलाई राष्ट्रियसभामा मनोनित गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव राखेको र त्यसमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको बताइएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडा, राधेश्याम अधिकारी र रामनारायण बिडारीलाई मनोनित गरेकी थिइन् । जसमध्ये बिडारीको कार्यकाल सकिएपछि एक पद रिक्त छ ।

शाहलाई सदस्यमा मनोनित गर्नेबारे प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका नेताहरुसँग पनि छलफल गरिरहेको स्रोतको दाबी छ ।

यस विषयमा शाहले भने बोल्न चाहेनन् । २०४१ सालमा नेपाल टेलिभिजनको सुरुवातसँगै शाहले १० वर्ष त्यहाँको नेतृत्व सम्हालेका थिए । शाह चलचित्र विकास बोर्डका अध्यक्ष पनि भइसकेका छन् ।

 

प्रतिक्रिया