राजनीतिक प्रतिवेदन पारित गर्दै सकियो एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

admin

काठमाडौं,२६ फागुन : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

बिहीबार सम्पन्न बैठकले अध्यक्षको प्रतिवेदन सुझाव सहित पारित गरेको हो । प्रतिवेदनमा वर्तमान अन्तराष्ट्रिय परस्थीति र राष्ट्रिय राजनीतिक परिस्थीतिको बिश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरुको समीक्षा र पार्टीका आगामी कार्ययोजना लगाएतका बिषय समेटिएको छ ।

बैठकले मोर्चा संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सझावसहित पारित गरेको छ । साथै १५ बुँदे समसामयिक प्रस्तावहरूसमेत पारित गरिएको नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि नियन्त्रण गर्न माग गरेको छ । मुलुकको आर्थिक सूचकहरु कमजोर भइरहेको भन्दै सरकारलाई आर्थिक सुधारका लागि ठोस योजना चाल्न सुझाव दिएको छ ।

त्यस्तै जनचाहना अनुरुप राज्यका सवै अंगमा भ्रष्टचारको नियन्त्रण र छानविन गर्नका लागि शक्तिशालि आयोग गठन गर्न पनि माग गरेको खतिवडाले बताउनुभयो । त्यस्तै स्थानीय तहको निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय भएको उहाले बताउनुभयो ।

त्यसअघि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइ कायमै रहेको बताउनुभएको थियो ।

उहाले आफुभित्र भएका कमीकमजोरीहरु सच्चाएर आपसमा विश्वासको वातावरण बनाउदै पार्टीलाई जनताकेन्द्रीत बनाउन निर्देशन दिनुभयो । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन पनि दिनुभयो । समूहगत छलफलका क्रममा नेताहरुले पार्टीबाट मन्त्री भएकाहरुको आचरणप्रति प्रश्न उठाएका थिए ।

 

प्रतिक्रिया