‘प्रमुख दलहरुको अदुरदर्शीताको कारण पनि देश संकटको चक्रव्यूहमा फसेको छ’ : थापा

admin

काठमाडौं,२७ फागुन : राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् । उनले अहिले पार्टीको संगठन निर्माणको काम युद्धस्तरमा भैरहेको पनि जनाए ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको पनि सुनाए । उनले भने,‘हामी अहिले युद्धस्तरमा संगठन निर्माणको तयारीमा छौं ।

स्थानीय तहको निर्वाचनमा हामी सहभागी छौं । हाम्रो प्राथमिकता संसदीय निर्वाचनमा छ। आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने तयारी गरेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले नेपालको राष्ट्रिय राजनीति संटकको चक्रव्यूहमा फसेको छ । विगत ७ महिनादेखि संसद् अवरुद्ध छ ।

न्यायपालिकाभित्रको अराजकता अझै समाधान भएको छैन् । अब देशलाई संकटबाट मुक्त तुल्याउनको लागि ताजा जनादेश र संसद्को निर्वाचनमा चाँडो नै जानुपर्छ । यो नै उपयुक्त विकल्प हो । जनताले ताजा जनादेशको माध्यमबाट नयाँ शक्ति, नयाँ विचार र नयाँ बाटोलाई रोज्नेछन् ।’

थापाले अहिले प्रमुख दलहरुको अदुरदर्शीताको कारण पनि देश संकटको चक्रव्यूहमा फसेको टिप्पणी गरे । उनले भने,‘बाहृय शक्तिको चलखेल र प्रभाव तिव्र रुपले बढेको छ ।

नेपाल विश्व महाशक्तिहरुको रणनीतिक प्रतिष्पर्धाको स्थल बन्नसक्ने संकेत देखापरेका छन् । पछिल्लो समय एमसीसीका सम्बन्धमा जे÷जस्ता विवाद देखा परे, त्यसले पनि नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलको केन्द्र बन्नसक्ने खतरा सहजै देख्न सक्छौं ।’

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले वर्तमान सरकारको फितलो र अदुरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध सौहार्दपूर्ण हुन नसकेको टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवाले न भारत भ्रमणमा जाने अवसर पाउनु भएकोछ, न त चीन नै जाने अवसर पाउनुभएको छ ।

र, साथसाथै खासगरी भारत र चीन दुवैसँग नेपालको सम्बन्ध चिसिँदै जान लागेको आँकलन गरिँदैछ । अर्कोतर्फ, प्रमुख दलहरुको अदुरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भैरहेको छ ।

प्रमुख दलले राज्य संयन्त्रमा कब्जा गरेर आफ्नो पार्टीको स्वार्थलाई सिद्ध गर्नको लागि प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानलाई पटक–पटक आघात पुरयाएका छन् ।’

उनले अहिले नेपालको अर्थतन्त्र दिनदिनै कमजोर हुँदै गएको पनि गुनासो पोखे । उनले भने,‘नेपालको सम्पूर्ण अर्थतन्त्र र आर्थिक गतिविधि केबल रेमिट्यान्समा मात्रै अडिएको छ । वैदेशिक रोजगारीमा अलिकति पनि खलल पर्यो भने नेपालको अर्थतन्त्रनै नै धराशयी हुने खतरा छ ।

त्यसैले जतिसक्दो नेपालको आर्थिक व्यवस्थालाई सुदृढ तुल्याउनुपर्छ । भ्रष्टाचार अत्यन्तै विकराल भएको छ। यो नियन्त्रण गर्ने संस्थाहरु सरकार र दलको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेका छन् ।

ठूला–ठूला भ्रष्टाचार काण्डका छानबिन त्यसै सेलाएका छन् । छानबिन भएर अदालतसम्म पुगेका कतिपय भ्रष्टाचारका मुद्दाहरुमा पनि सम्बन्धित निकायले ठोस र प्रभावकारी कदम चाल्न सकेका छैनन् ।’

उनले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन भैरहेको पनि आरोप लगाए । उनले भने,‘विदेशी धर्म र संस्कृति लाद्ने काम भैरहेको छ।’थापाले राप्रपा नेपाल पुनर्जागित गर्नुको कारणबारे लामो व्याख्यासमेत गरे ।

 

उनले भने,‘२०६३ सालको राजनीतिक परिवर्तनपछि, नेपालको राष्ट्रिय राजनीतिमा फरक विचार, अलग पहिचान र वैकल्पिक मार्गचित्र बोकेर राप्रपा नेपालको स्थापनाको भएको थियो ।

सबै धर्म र जातिबीच समानता अनि सनातन धर्मसापेक्ष हिन्दूराष्ट्रको स्थापना, राजसंस्थासहितको प्रजातन्त्रको विचार बोकेर राप्रपा नेपाल स्थापना भएको थियो । हामीले छोटो समयमा नै नेपाली जनताबाट ठूलो साथ र समर्थन पायौं, र तेस्रो शक्तिको रुपमा राप्रपा नेपालको उदय भयो ।’

यो बीचमा उनले पार्टी ठूलो बनाउनको लागि गलत प्रवृत्तिसँग सम्झौता गर्नु नै गलत भएको पनि थापाले सुनाए । उनले थपे–‘हामीले बाटो विरायौं । गत स्थानीय तह र संसदीय चुनावमा राप्रपाले अत्यन्तै निराशाजनक परीणाम भोग्नुपर्यो । राष्ट्रिय राजनीतिमा हामी करिब–करिब भूमिकाविहीन हुन पुग्यौं ।

यो पाँच वर्षको अवधिमा नाम, पहिचान, चुनाव चिन्ह सबै गुमायौं । विश्वसनियतापनि गुमायौं । अहिले हामीले राप्रपा नेपाल पुनर्जागित गरेका छौं । विगतका त्रुटि र कमिकमजोरी सच्याएर अघि बढ्ने प्रण गरेका छौं । जनतासमक्ष क्षमायाचना गर्दै अघि बढ्छौं ।

भविष्यमा गल्ती नदोहोर्याउने प्रतिज्ञासमेत गरेका छौं । अब राप्रपा नेपालको मुख्य एजेण्डा सम्र्वद्धनवाद र प्रजातान्त्रिक हिन्दूराष्ट्र हुनेछ । समावेशी प्रजातन्त्रलाई अपरिहार्य आधारको रुपमा आत्मसात् गरेका छौं । पृथ्वीनारायण शाहलाई आदर्श पुरुष बनाएका छौं ।’

उनले राप्रपा नेपालले महिला, आदिवासी, जनजाति, थारु, अल्पसंख्यक समूदायको हितलाई उच्च प्राथमिकतामा राखेको पनि सुनाए । उनले उदारमुखी र खुल्ला बजारमुखी अर्थतन्त्र बनाउने र समृद्ध नेपाल निर्माण गर्ने उद्देश्य राखेको पनि सुनाए ।

उनले थपे–‘यसरी राप्रपा नेपाल पुनर्जागित भएको छ । राप्रपा नेपाल पुनर्जागित भएको आज २१ दिनमात्रै भएको छ । देशका विभिनन जिल्लामा पार्टीका संगठनहरु खडा भएका छन् ।

युवा, विद्यार्थी, महिला, सांस्कृतिक मञ्च र धार्मिक संगठनलगायतका संगठनहरु निर्माण भएका छन् । आगामी दिनमा नेपाली जनताको विशवास प्राप्त गरेर राप्रपा नेपालालाई देशको अग्रणी शक्ति बनाउनेछौं ।’

प्रतिक्रिया