नेविसंघ नेताहरुको मागः स्थानीय चुनावमा महत्वपुर्ण भुमिका दिइयोस्

admin

काठमाडौं,२७ फागुन : नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघका अगुवा नेता तथा कार्यकर्ताहरुले युवा विद्यार्थीहरुलाई आगामी स्थानीय तहको चुनावमा महत्वपुर्ण भुमिका दिन पर्ने धारणा राखेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी चुनावमा कांग्रेसलाई जिताउन नेविसंघले महत्वपुर्ण भुमिका खेल्ने नेताहरुले दाबी गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका पुर्व महामन्त्री युवराज पाण्डेले नेविसंघको नेतृत्व कस्तो हुनुपर्ने त्यसको बारेमा छलफल पहिला हुन पर्ने बताए ।

उमेरको मात्र आधारलाई नहेरेर सबै समस्यालाई उठान गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको उनले औंल्याए । उमेर हदबारे प्रसंगमा कुरा गर्दै उनले नेविसंघको १२औं महाधिवेशनबाट ३२ वर्षे उमेरहद लागु हुने विधान बनाएको बताए ।

आफु उमेरहद बाट नभई बाहिरबाट महामन्त्री भएको सुनाउँदै नियमित रुपले महाधिवेशन भएमा उमेरहद आफै हट्ने जिकिर गरे । उमेरहद सधैभरि लगाउन जरुरी नभएको भन्दै यसबारेमा पार्टी नेतृत्वले ध्यान दिन पर्ने बताए । पार्टीको उमेरहद लगाउने निर्णयलाई आश्चर्य मान्न नहुने उनको भनाई थियो ।

त्यस्तै, नेविसंघका पुर्व सहमहामन्त्री तथा प्रवक्ता प्रेमराज जोशीले नेविसंघ के हो र यसको आवश्यकता रहेको सबैलाई बुझाउनुपर्ने आवश्यकता रहेको बताए । नेविसंघको १२औं महाधिवेशन नभएकोले अहिले लथालिंग अवस्थामा पुगेको उनको भनाई थियो ।

उनले भने,‘समयमै महाधिवेशन गर्न सकेनौ, त्यसकारण आजको अवस्था सृजना भएको हो ।’ आगामी चुनावमा जान त सबैभन्दा पहिले अहिले नेविसंघ आफै पुर्णरुपमा तन्दुरुस्त हुनुपर्नेमा जोड दिए । उनले भने,‘भोटरलाई मतदान स्थलसम्म पुर्याउने र कांग्रेसको पक्षमा भोट हाल्ने बनाउने त्यो जिम्मेवारी नेविसंघको काधमा रहेको छ ।’

पुर्व केन्द्रीय सदस्य प्रेमिका राना मगरले नेपाली कांगे्रसलाई आगामी स्थानीय तहको निर्वाचन जित्न नेविसंघको भुमिका महत्वपुर्ण रहेको बताइन् । अहिले नेविसंघ पार्टी संगठनहरुको बारेमा मौन रहेको पनि बताइन् । भातृसंगठनहरु नेतृत्व विहिन भएको भन्दै उनले स्थानीय तहको निर्वाचनमा नेविसंघले मुलपार्टीलाई जिताउन सक्ने जिकिर गरिन् ।

उनले भनिन्, ‘कांग्रेस फेरी पनि चुनाब हार्न नपरोस् । तरुणदल, नेविसंघलाई सिमित राख्न हुँदैन् ।’ सबै विद्यार्थीहरु नेताको मात्र भर पर्न नहुने पनि उनले बताइन् । नेविसंघको भुमिका स्थानीय तहको निर्वाचनमा अन्य भातृ संगठनको भन्दा धेरै महत्वपुर्ण हुने उनको भनाई थियो ।

मगरले नेविसंघको केन्द्रीय (सभापति) अध्यक्ष पदको दाबेदार आफु भएको बताइन् । र आफुलाई सभापति बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै नेविसंघको समस्या उठाउन आफु सक्षम भएको जिकिर गरिन् ।

जनप्रशासनका क्याम्पसका नेविसंघका सभापति टंक सुवेदीले नेपाल विद्यार्थी संघ खोइ ? भन्दै प्रश्न गरे । । नेविसंघको नेतृत्व नहुँदा सबै लथालिंग भएको उनको भनाई थियो । नेविसंघलाई योग्य नेतृन्व दिन पनि उनले पार्टी नेतृत्वलाई आग्रह गरे ।

नेविसंघको कारण हरेक जिल्लाका समस्या समाधान र आन्दोलन सफल भएका पनि उनले जिकिर गरे । नेविसंघको लागि लामो समय बिताउनेहरुको उमेरलाई ख्याल गरी सम्मान गर्दै जिम्मेवारी दिन पर्ने सुझाव दिए ।

उनले भने,‘३२ वर्ष काटेका व्यक्तिहरुलाई उहाँहरुको राजनीतिको हत्या नगरी उहाँहरुलाई उचित व्यवस्थापन गर्न माग गर्दछु ।’ आगमी स्थानीय तहको निर्वाचनमा योग्य विद्यार्थीहरुलाई पनि जिम्मेवारी दिन पर्नेमा जोड दिए । पार्टीलाई जिताउन नेविसंघको भुमिका महत्वपुर्ण हुने उनले बताए ।

यसैगरी, नेविसंघका पुर्व केन्द्रीय सदस्य तारक केसीले केन्द्रीय नेतृत्व भताभुंग भएपनि नेविसंघका क्याम्पस र जिल्ला स्तरका कमिटिहरु क्रियाशिल रहेको बताए । वर्तमानसँग जुध्न सक्ने, विगतलाई ध्यान दिने र नेविसंघका सम्पुर्ण समस्या समाधान गर्न सक्ने नेतृत्व अबको आवश्यकता रहेको उनले औंल्याए ।

विद्यार्थी संगठनको भुमिकालाई कमजोर बनाउन नहुने उनले तर्क राखे । उनले भने,‘जो जहाँ छ, सबैले त्यहीबाट आगामी चुनावमा आफ्नो भुमिका निभाउन पर्छ ।’

स्थानीय चुनावमा नेविसंघको भुमिका सार्थक हुने उनले स्पष्ट पारे । नेविसंघको नेताहरु राम्रो र प्रभावकारी ढंगले जनतामाझ गएर कांग्रेसलाई जिताउन ठुलो भुमिका खेल्न पर्ने उनको भनाई थियो ।

त्यस्तै, नेविसंघ पुर्व केन्द्रीय सदस्य लाओस राईले नेविसंघको मुख्य भुमिका नै कांग्रेसलाई चुनावमा जिताउने भएको बताए ।

संघीयतामा नेविसंघको भुमिका महत्वपुर्ण छ भन्दै उनले अहिलेको स्थितिमा स्थानीय चुनावमा धेरै खटेर पार्टीका उम्मेदवारहरुलाई जिताउन पर्ने धारणा राखे । नेविसंघमा उमेरको हदबन्दी लागुन हुन नहुने बताए ।

यसैगरी, नेविसंघका पुर्व केन्द्रीय सदस्य भोला नेपालले स्थानीय तहको तयारी मा नेपाली कांग्रेस जुटेको बताए । उनले भने,‘चुनावको लागि कांग्रेस जुटेको मात्र छैन् दौडिरेहको छ ।’ नेविसंघ लगायत भातृसंगठनका नेतृत्व माउ पार्टी कांग्रेसको नेता भएपछि नेविसंघको नेतृत्व अलपत्र परेको उनले सुनाए ।

नेविसंघमा बेला बेला मा उमेर हदको कुरा उठाउँदै आएको भन्दै उनले उमेर हद लाग्न नहुने तर्क राखे । उमेरमा राजनीति गर्न नहुने उनको भनाई थियो । स्थानीय तहको निर्वाचनका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा उत्साह भर्न नसकेको पनि उनले स्वीकार गरे ।

कार्यक्रममा नेविसंघका पुर्व केन्द्रीय सदस्य शैलेन्द्र शर्माले नेविसंघले आगामी स्थानीय चुनावमा कांग्रेसलाई जिताउन पर्ने धारणा राखे ।

अहिलेको अवस्थामा पुराना र अनुभवी नेताहरुको आशिर्वाद र सल्लाहबाट अगाडी बढ्नु्पर्ने ट्टकारो आवश्यकता रहेको जिकिर गरे । वैचारिक धरातल र सिद्धान्तलाई लिएर नेविसंघ अघि बढ्न पर्ने उनले बताए । शर्माले नेतृत्वले जिम्मेवार ढंगले युवाहरुलाई जिम्मेवारी दिएर अग्रजहरुलाई सम्मान गर्दै उनीहरुको पनि सम्बोधन गर्नपर्नेमा जोड दिए ।

सुचना प्रवाहको माध्यमबाट वैचारिक सिद्धान्तको बारेमा जनतालाई सुसुचित गराउन पर्ने बताए । आफ्नो स्वार्थलाई छाडी, गुट र उपगुटबाट माथि उठेर सबैजना अगाडी बढ्न पर्ने अहिलेको आवश्यकता रहेको औंल्याए ।

नेविसंघका पुर्व कोषाध्यक्ष शिव रिमालले नेविसंघ कहाँ छ ? भन्दै टर्च लाइट बालेर खोज्न पर्ने दिन आएको सुनाए । उनले कुनै पनि स्थानीय तहमा नेविसंघको उपस्थिति नरहेको पनि स्पष्ट पारे । नेविसंघमा उमेर हद लागु गर्न नहुने उनले तर्क गर्दै आफु उमेरहदको विपक्षमा रहेको समेत स्पष्ट पारे । उनले भने,‘नेविसंघमा उमेरहद लागु गर्न हुँदैन् लागु गर्दा अन्याय हुन्छ ।’

आफ्नो धारणा राख्दै नेविसंघका पुव केन्द्रीय सदस्य लिला वल्लभ दाहालले नेविसंघको आफ्नो पालामा २ वटा महाधिवेशन भएको सुनाए । समयमै महाधिवेशन नहुनुनै सम्पुर्ण समस्याको जड भएको उनको भनाई थियो । नेविसंघको एजेण्डाको बारेमा माउ पार्टी कांग्रेसका नेताहरुले नै नबुझेको उनले बताए ।

वर्षको छ अर्ब रुपैयाँ एमबीबीएस पढ्नका लागि बाहिरीने भन्दै उनले त्यसबारे नेपाली कांग्रेसले ध्यान नदिएका बताए । अब त्यसबारेमा नेविसंघले ध्यान दिनपर्नेमा उनले जोड दिए । उनले भने,‘अब आर्थिक मुद्दामा पनि नेविसंघ बोल्नपर्छ ।’

कार्यक्रममा सभापतित्व गर्दै रुकुम नेविसंघका अध्यक्ष सुमन बुढामगरले नेविसंघको केन्द्रीय समिति नहुनुको सबैभन्दा लज्जास्पद कुुरा भएको बताए । आज आफु बाध्य भएर काठमाडौं आएर कार्यक्रमको आयोजना गर्न परेको उनले स्पष्ट पारे ।

उनले नेविसंघका सबै नेताहरुलाई कार्यक्रममा बोल्न आमन्त्रण गरेको बताए । उनले रुकुम निकै विकट भएको भन्दै तराईजस्तो राजनीति गर्न सजिलो नभएको प्रस्टाए ।

नेविसंघका नेताहरुलाई ३२ वा ३२ भन्दा कम उमेर हदको बारेमा धेरै नसोची आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउन केन्द्रीत हुन आग्रह गरे । कार्यक्रमको सञ्चालन चन्द्रकान्त पौडेलले गरेका थिए ।

प्रतिक्रिया