स्थानीय तह निर्वाचन : शक्ति देखाउन दलका होडबाजी

admin

काठमाडौं,३० फागुन : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् ।

गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भिœयाउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन तय भइसकेको छ ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत बिहीबार मात्रै पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई तामझामका साथ कार्यक्रम आयोजना गरेर कांग्रेसमा प्रवेश गराएको थियो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रौनियारलाई आफैं उपस्थित भएर कांग्रेस प्रवेश गराएका थिए । उनी नेपाली जनता दलबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।

यसैगरी, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार मात्रै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं वीरगन्ज पुगेर एमालेमा भित्र्याएका हुन् । सरावगीको पहिलो रोजाइ कांग्रेस थियो । तर, कांग्रेसबाट राम्रो ‘रेस्पोन्स’ नआएपछि अन्तिममा उनी एमालेमा गएका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया