सार्वजनिक यातायातको भाडा बढाउने तयारीमा यातायात व्यवस्था विभाग

admin

काठमाडौं,३० फागुन : यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउने तयारी थालेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकारसँग छलफल तथा समन्वय गरी विभागले भाडादर समायोजन गर्न लागेको हो।

सरकारले पेट्रोलियम पदार्थमा पटक-पटक मूल्यवृद्धि गरेपछि यातायात व्यवसायी आन्दोलित बनेका छन्। विभागका महानिर्देशक नमराज घिमिरेले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएसँगै व्यवसायीका माग सूनुवाइ गर्नुपर्ने अवस्था आएको बताए। उनले एकसाताभित्र नयाँ भाडादर कायम गराउने गरी छलफल भइरहेको जानकारी दिए।

उनले भने, ‘पटक-पटक सरकारले मूल्यवृद्धि गरिसकेको छ, त्यसको मारमा यातायात व्यवसायी पनि छन्, त्यसैले नयाँ भाडादर समायोजन गर्नेबारे विभागले तयारी गरेको छ।’ उनले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका आधारमा भाडा बढाइने बताए।

चैत ७ सम्म सरकारले यातायातको भाडा समायोजन नगरे आन्दोलन गर्ने चेतावनी यातायत व्यवसायीले दिएका छन्। उनीहरूले पेट्रोलियम पदार्थमा पटक-पटक मूल्यवृद्धि हुँदा पनि सरकारले नयाँ भाडादर समायोजन नगरेको बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिक रूपले भाडादर समायोजन गर्नुपर्ने बताए।

उनले व्यवसायीले जायज माग उठान गरेको र माग सम्बोधन नभए आन्दोलन गर्ने र यातायात ठप्प पार्ने बताए। उनले भने, ‘सरकारले इन्धनको मूल्य बढायो तर हामीले पुरानै भाडादरमा सार्वजनिक यातायात सञ्चालन गर्नुपरेको छ, त्यसकारण भाडादर बढाउनुपर्छ।’

प्रतिक्रिया