एमसीसी परियोजनाबाट मुलुकले फाइदा लिनसक्नुपर्छः गृहमन्त्री खाँण

admin

काठमाडौं, १ चैत : गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना मुलुकको हितमा रहेको भन्दै यसबाट फाइदा लिनसक्नुपर्ने बताउनुभएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले मंगलबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा एमसीसीका बारेमा अनावश्यक चर्चा चलेको भन्दै एमसीसी परियोजना मुलुकको हितमा रहेको र यसबाट फाइदा लिनुपर्ने बताउनुभएको हो ।

उहाले एमसीसीका कारण उपभोक्तालाई पर्न सक्ने असरका बारेमा सरकार सचेत रहेको धारणा पनि राख्नुभयो । बिद्युत र उर्जाको उत्पादन बढे व्यापारको सन्तुलन बढ्न सक्ने सरकारको विश्वास रहेको उहाको भनाई छ ।

त्यस्तै गृहमन्त्री खाँणले स्थानीय उत्पादनको प्रयोगलाई बढवा दिन नागरिक सचेतना बढाउनुपर्ने र यसमा उपभोक्ता अधिकारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । संविधान, ऐन कानुनमा भएका उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको उहाको भनाई छ ।

‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ मंगलबार विश्व उपभोक्ता अधिकार दिवस मनाइएको हो ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको छ ।

प्रतिक्रिया