घर भित्र पसेको निहुँमा १३ वर्षिया बालिकालाई २१ घण्टा सम्म बाँधेर यातना

admin

काठमाडौं, १ चैत : रामेछापमा घर भित्र पसेको निहुँमा १३ वर्षिया एक बालिकालाई घरधनीले २१ घण्टा सम्म डोरीले बाँधेर यातना दिएका छन् ।

जिल्लाको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरमा एक बालिकालाई घर भित्र पसेको निहुँमा स्थानीय शेर बहादुर श्रेष्ठले आफ्नो घरमा सानो जातको मान्छे पसेको भन्दै डोरीले बाँधेर यातना दिएका हुन् ।

श्रेष्ठले छिमेकी १३ वर्षिया सरिता नेपालीलाई डोरीले बाँधेर राखेका हुन् । डोरीले बाँधेकै अवस्थाबाट प्रहरीले बालिकाको उद्धार गरेको छ । श्रेष्ठले आफूहरु घरमा नभएको समयमा घर भित्र छिरेर दही चोरेर खाएको आरोपमा बाँधेर राखेको दावी गरेका छन् ।

हिजो (सोमबार) अपरान्ह ४ बजे देखि आज मध्यान्न १२ बजे सम्म श्रेष्ठले सानो जातको मान्छे घरभित्र पसेर दही खाएको र घर अछुतो भएको भन्दै उनले बाँधेका थिए। श्रेष्ठलेले पीडितका परिवाले रुद्री लगाएर घर चोख्याउन खर्च नदिए सम्म नछोड्ने बताएपछि घटना बाहिरिएको थियो ।

पीडित बालिकाले आफूलाई घरभित्रबाट निकालेर घरको दलिनमा डोरीले बाँधेर सिस्नु लगाउँदै लौरोले कुटेको बताइन् । डोरीले बाँधेर राखेको कारण राती दिसा–पसिाब गर्न समेत अफ्टेरो भएको पीडित बालिकाले बताइन् ।

घटनाको बारेमा वडाध्यक्षले खबर गरेपछि बालिकाको उद्धार गरेर ल्याइएको र पीडक शेर बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धन प्रक्रिया सुरु गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताए ।

घरभित्र पसेकै कारणले जातिय विभेद गर्न नहुने कानून भएपनि कानूनको उलंघन गरिएको देखिए कानून अनुसार पीडकलाई कारबाही हुने रामेछाप प्रहरीले बताएको छ ।

प्रतिक्रिया