स्थानीय तहको निर्वाचन तयारीमा केन्द्रित हुन सांसदहरुलाई निर्देशन

admin

काठमाडौं, ३ चैत : प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एजेण्डाका साथ निर्वाचन केन्द्रीत भएर गाँउ गाँउमा जान निर्देशन दिनुभएको हो ।

बैठकमा ओलीले स्थानीय तहको चुनावमा ६५ देखि ७० प्रतिशत सिटमा जित हासिल हुने दावी गर्नुभएको थियो ।

एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने अध्यक्ष ओलीले बताउनुभएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

नेताजस्तो नभई कार्यकर्ताजस्तो भएर र जनतासंग नङ मासुको सम्बन्धजस्तै बनाएर जनतामाझ जान ओलीले निर्देशन दिनुभएको उहाले बताउनुभयो ।

त्यस्तै संसदको अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उदेश्यमात्र पुरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै उहाले संसद अधिवेशन अन्त्य गरेर प्रधानन्यायधिशमाथिको महाभियोग पास गर्ने नियतले नल्याएको पुष्टि भएको उहाले बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले सरकारको गलत कामको भण्डाफोर गर्न पनि निर्देशन दिनुभएको भट्टराईले बताउनुभयो । त्यस्तै उहाले स्थानीय तहको निर्वाचनमा राम्रो काम गरेकालाई प्राथमिकता दिने समेत बताउनुभएको थियो ।

प्रतिक्रिया