काठमाडौँ, ८ चैत : स्थानीय तहको निर्वाचनमा दोहोर्याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगले लागू गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो। इजलासले चैत १३ गते दुवै पक्षको छलफल पनि डाकेको छ। उक्त छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिनेबारे अर्को आदेश हुनेछ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट दिएका हुन्।
आइतबार हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुनविपरीत भएको भन्दै आफूले रिट दिएका थिए। सोमबार उक्त रिट दर्ता भएको थियो।