यो गठबन्धन रहरले बनेको होईन, तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : पूर्वमन्त्री पाण्डे

admin

काठमाडौँ, ९ चैत :  नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । उनले भने,‘गठबन्धन हामीले रहरले बनाएको होइन् ।

यो बाध्यता हो । गठबन्धनको कुरा गर्नुभयो भने यो प्राक्टिस धेरै पहिलेदेखि नै गरेका छौं । बहुदल ल्याउन र २०६२, ०६३ को जनआन्दोलनमार्फत परिवर्तन पनि गठबन्धनकै बलमा भएको हो ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले स्पष्ट बहुमतसहित देशको नेतृत्व गर्नको लागि पनि जनताले कांग्रेस र नेकपालाई साथ दिएको स्मरण गराए । तर, दुवै सरकारले पूरा कार्यकाल सरकार सञ्चालन गर्न नसकेको उनको गुनासो थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाण्डेले भने,‘यो देशले बहुमत दिएकै हो, दुई तिहाईको सरकार सञ्चालनको अवसर पाएका थियौं । तर, हामीले यो सरकारलाई थाम्न सकेनौं । ओलीले देश र पार्टीको जिम्मेवारी लिनुभएको थियो ।

तर, दुई तिहाईको मत बीचमै खण्डित भयो । सरकार र पार्टी सञ्चालन गर्ने विधि, अत्यन्तै अराजनीतिक, अप्रजातान्त्रिक तरिकाले बढ्दै गए। संविधानमै व्यवस्था नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने काम पनि भयो ।

त्यो पनि दुई दुई पटक संसद् विघटन भयो । संविधान मिचियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र संविधान बचाउनको लागि यो गठबन्धन बनाएका हौं ।’ उनले वर्तमान गठबन्धन समयले माग गरेको पनि दाबी गरे ।

उनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने नै दाबी गरे । उनले भने,‘रणनीति र आवश्यकत्ता के पर्छ ? त्यो आफ्नो ठाउँमा छ । अहिले चुनावमा तालमेल र गठबन्धन गर्नेबारे छलफल भएको छ ।

बालुवाटारमा भएको छलफल थाहा पाईसकेका छौं । ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको उम्मेद्धवार केन्द्रबाट टुँगो लगाउने कुरा भएको छ । यो कुरा पनि उठिरहेको छ । हामी आपसी सहमति र सल्लाहबाट यो कुरा टुँगो लगाउँछौं ।’

प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन कायम हुने पाण्डेको दाबी छ । उनले थपे–‘यो गठबन्धनलाई कायम राख्न जरुरी छ।

नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न हुँदैन् । यो गठबन्धन टुट्दैन् । गठबन्धन टुट्छ कि भनेर कसैले द्धिविधा नराखे हुन्छ। कांग्रेसका केही नेताहरुले तुच्छ शब्द बोलेको पनि सुनेको छु ।’

प्रतिक्रिया