नेपाल र थाइल्याण्ड आज भिड्दै

admin

काठमाडौँ, १० चैत : एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दैछ । नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।

सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो, जसमा नेपाल दुवैमा पराजित रहेको थियो ।

थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ । बैंककमा भएका ती दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो । त्यसमा नेपालका लागि एक गोल गर्ने खेलाडी मणि शाह रहेका छन् ।

खेल अगाडि आयोजित प्रि म्याच पोस्ट कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डमा बटुल्न अनुभव एसियाकप छनोटका लागि निकै उपयोगी हुने बताएका छन् । उनले भनेका छन्, ‘थाइल्यान्ड र नेपालको हावापानी केही मिल्दोजुल्दो छ । थाइल्यान्डका सबै खेलाडी उत्तिकै क्षमताका छन् ।’

अल्मुताइरीले नेपाली टिम सम्हालेयता आफू पहिलो पल्ट थाइल्यान्ड आएको छ र टिमको तायरीमा आफू सन्तुष्ट रहेको पनि बताए ।

यस्तै नेपाली टिमका कप्तान किरण लिम्बूले थाइल्यान्डको सामना गर्नेक्रममा एसियाकप छनोट अगाडि रहेका कमजोरी सुधार्ने बताए ।

उनले भनेका छन्, ‘थाइल्यान्डविरुद्धको खेलका लागि हामी सबै उत्साहित छौं ।’ खेल थाइल्यान्डको चोनबरीमा हुनेछ । नेपाली समयअनुसार साँझ ५:४५ मा खेल सुरु हुनेछ ।

प्रतिक्रिया