श्रमिकको हितका लागि गरिएका समझदारी कार्यान्वयन गर्न एनटियुसीको आग्रह

admin

काठमाडौँ, १० चैत : नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी)ले नेपाली श्रमिकहरूको बहृत्तर हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।

एनटियुसी र कांग्रेसबीच भएको सात बुँदे समझदारी कार्यान्वयन भए मात्र आमश्रमिकको जीवनस्तर उकास्न सकिने भएकाले सो समझदारीलाई पूर्णरूपमा कार्यान्वयन लैजान आग्रह गरिएको हो ।

संस्थापक अध्यक्ष स्व गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको सन्दर्भ पारेर यही चैत ७ र ८ गते भएको राष्ट्रिय समितिको निर्णयबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकार र राजनीतिक दलहरु श्रमजीवीहरूको भविष्यप्रति संवेदनशील हुन नसकेको आरोप लगाउनुभयो ।

रोजगारदाता इमान्दार नहुँदा सामाजिक सुरक्षा योजनाको कार्यान्वयन प्रभावकारी बन्न नसकेको भन्दै उहाँले यसमा सरकारको इच्छाशक्तिको कमी देखिएको गुनासो गर्नुभयो ।

एनटियुसी बैठकले संविधानदेखि सबै पार्टीका प्रमुख नीति समाजवाद भए पनि कार्यक्रम भने त्यसको विपरीत हुने गरेको निष्कर्ष निकालेको महासचिव योगन्द्रकुमार कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया