कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा

admin

काठमाडौँ, ११ चैत :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुँदैछ।

साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा छ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म चल्ने गरी पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ।

यस्तै कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन्। केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो।

कांग्रेसले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ।

केन्द्रीय समिति बैठक बस्नुपूर्व नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकेका छन्। साथै देउवाले रिक्त रहेका भातृ संस्थाका नेतृत्वमध्ये नेविसंघ र तरूण दलमा अध्यक्ष तोकेका छन्।

यसैबीच आज चुनावी तालमेलका विषयमा पनि छलफल हुन सक्ने केन्द्रीय सदस्यहरूले बताएका छन्। तर कांग्रेसले लिखित एजेन्डामा भने यो विषय समावेश गरेको छैन। केन्द्रीय समिति बैठक बस्नुपूर्व धारणा बनाउन रामचन्द्र पौडेलले पनि आफूनिकट नेताहरूको भेला राखेका छन्।

यसअघि शेखर कोइराला पक्षको पनि भेला भएको थियो। सभापति देउवाले महाधिवेशनमा आएको ४० प्रतिशत मतको बेवास्ता गर्दै एकलौटी निर्णयहरू गरेको भन्दै ध्यानाकर्षण भएको बताएका थिए।

केन्द्रीय सदस्य मनोनयन र भातृ संस्था प्रमुख तोक्दा पनि देउवाले परामर्श नगरेको गुनासो कोइराला पक्षको छ। गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा देउवा र कोइराला प्रतिस्पर्धा गर्दा देउवाले जितेका थिए।

प्रतिक्रिया