ललितपुर महानगरपालिका सम्बृद्ध बनाउने मेयर आकांक्षी अधिवक्ता राजेश महर्जनका कार्ययोजनाहरु

admin

काठमाडौँ, १२ चैत: बैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा ललितपुर महानगरपालिकामा जनप्रतिनिधि आकांक्षीहरुको दौडधुप सुरु भएको छ । यसै क्रममा भर्खरै मात्र नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत भएका ललितपुर महानगरपालिकाका मेयर आकांक्षी राजेश महर्जनले भने महानगरबासीलाई सुखी र सम्बृद्ध बनाउने आफ्ना भावी कार्ययोजनाहरु सार्वजनिक गरेका छन्।

लामो समय देखि नेपाली कांग्रेसबाटै राजनीतिमा सक्रिय र पेशाले कानुन व्यवसायी अधिवक्ता राजेश महर्जनले ललितपुर नगरपालिकाकालाई नमुना शहरका रुपमा बिकास गर्ने आफ्ना योजनाहरु जनतामाझ लेराएका हुन् । मोनोरेल, स्मार्ट सिटि, फ्लाईओभर जस्ता ठुल-ठुला गफ भन्दा स-साना जनजिविकासँग गाँसिएका सुक्ष्म बिषयलाई बिशेष प्राथमिकता दिने उनले योजना बनाएका छन्।

यस्ता छन् ललितपुर महानगरपालिकालाई समृद्ध बनाउने राजेश महर्जनका भाबी योजनाहरु:

महानगरपालिकाको आर्थिक बिकास

ललितपुर नगरपालिकाकालाई समृद्ध बनाउन महर्जनले सबैभन्दा पहिला महानगरपालिकाको आर्थिक बिकास गरिनुपर्ने जरुरी देखेका छन्। युवाहरुलाई रोजगारी, स्थानीय उत्पादनलाई प्रवर्धन, पर्यटन प्रवर्धन, युवाहरुलाई सिपमुलक तालिम, अनियन्त्रित व्यवासयलाई व्यवस्थित बनाउने, बैज्ञानिक कर प्रणाली बनाउने, जस्ता बिषयलाइ उनले आर्थिक बिकासको मुख्य आधार बनाएका छन् ।

नेवारी परम्पारागत हाकुपोटासी लगायातका पोशाक उत्पादन गर्ने, मुर्तिकला, थान्का, माटाका भाडा बनाउने, धातुका भाडा बनाउने, बिभिन्न गर-गहनाहरु बनाउने, परम्परागत बाजाहरु बनाउने, जस्ता व्यवसायहरुलाई उनले बिशेष प्रोत्साहन गर्ने बताएका छन्। बिशेष गरेर लामो समयको कोभिड महामारीका कारण थलिएको पर्यटन व्यवसायसंगै नराम्ररी थलिएका यस्ता व्यवसायीहरुलाई प्रोत्साहन गर्न उनले शुलभ कर्जाको व्यवस्थाका साथै निर्यात र प्रवर्धनका लागि सहजीकरणको भूमिका खेलीदिने बताएका छन्। नेपालमा उत्पादन हुने हस्तकला र मूर्तिकलाका सामानहरु विश्व बजारमा ठूलो माग रहेको तर चाइना र भारतमा बनेका सस्ता समानहरुमा नेपाली ट्याग लगाएर बेच्ने गरेकाले नेपाली व्यवसायी धरासायी बनेको समेत उनले बताए। त्यस्ता कार्यलाई तत्काल रोकेर महानगरपालिका भित्रै रहेका उत्पादनमुखी व्यवसायीहरुको सामानलाई प्रवर्धन गरेर बिश्व बजारमा पुर्याउन सकिने उनले बताए।

आजकल बिदेशी रक्सिमा धेरै भन्दा धेरै नेपाली पैसा विदेशीने गरेको बताउँदै उनले सकेसम्म नेवारी समुदायभित्रै उत्पादन हुने लोकल रक्सिलाई ब्र्याण्डिङ्ग गरेर बेच्न प्रोत्साहन गर्ने बताए । खाद्य गुणस्तर मापनभित्र नै नेवारी रक्सिलाई राखेर उचित लेबलिङ्ग सहित उत्पादन गर्न सके विश्व बजारमा निर्यात समेत गर्न सकिने उनको ठम्याई छ।

त्यस्तै गरि उनले उत्पादन मुखी व्यवसायहरुलाई बिशेष कर छुट दिने व्यवस्था मिलाउने बताएका छन् । साथै करको दायरामा नआएका सडक छेउका फुटपाथ, ठेलागाडा, साइकल, आदिमा ब्यबसाय गरिरहेकाहरुलाई उचित र व्यवस्थित स्थानान्तरण गरेर ब्यबसाय दर्ता गराई करको दायरामा ल्याएर महानगरपालिकाको आर्थिक वृद्धि गर्ने उनको योजना रहेको छ ।

पर्यटन प्रवर्धनका लागि पर्यटकीय हबहरुमा रहेका व्यवसायीहरुलाई २४ सौ घण्टा सुरक्षाको प्रत्याभूति दिनुका साथै निश्चित समय तोकेर पर्यटकीय हबहरुमा मोटर गाडीहरु गुड्न प्रतिबन्ध समेत लगाउनुपर्ने उनको बुझाइ छ। आन्तरिक पर्यटनका लागि नेवारी खाजा र खानालाई प्रवर्दन गर्ने हिसाबका होटेल, रेस्टुराँ तथा खाजा घरहरुलाई थप व्यवस्थित तुल्याउने उनको योजना रहेको छ।

धर्म-संस्कृति र परम्पराको जगेर्ना साथै संरक्षण

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको ललितपुर महानगरपालिकामा वर्षभरि थुप्रै चाड-पर्व र जात्राहरु हुने गरेका छन्। तर बिस्तारै गुठिका सम्पतिहरु अपचलन हुँदै गएका कारण यस्ता चाड-पर्व र जात्राहरु धरासायी बन्दै गरेको महर्जनको बुझाइ रहेको छ। ललितपुर महानगरपालिका भित्र रहेका गुठीहरुको सूचीकरण गर्दै गुठिका सम्पतिहरुको खोजबिन गर्नुपर्ने र उचित संरक्षणमा ध्यान दिनुपर्ने उनको जोड रहेको छ। खोकनाको जात्रा, हरिसिद्धि जात्रा, बालकुमारी जात्रा, रातो मछिन्द्रनाथको जात्रा, जस्ता परम्परागत जात्राहरुलाई थप ब्यबस्थित रुपमा मनाउन युवा सहभागितालाई ध्यान दिने उनले बताए।

ललितपुर महानगरपालिकाभित्र रहेका भजन मण्डलीहरुको उचित व्यवस्थापन गर्ने र जिर्ण रहेका मठ-मन्दिर, पाटि-पौवाहरुलाई जिर्णोदार गर्दै संरक्षण गरिनुपर्ने उनको तर्क रहेको छ। भूमाफिया र बिभिन्न पेशा-व्यवसायीहरुले अतिक्रमण गरेको सार्वजनिक जग्गाहरुलाई फिर्ता ल्याउन पहल गरिनुपर्ने उनले बताए।

जेष्ठ नागरिकहरुलाई डे-केयरको व्यवस्था

ललितपुर महानगरपालिकाभित्रका सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई नर्ससहितको डे-केयर स्थापना गर्नुपर्ने महर्जनले बताए। जेष्ठ नागरिकहरुको उचित सम्मान, हेरचाह र उपचारका लागि पुस्तकालय, भजन मण्डली, चियानास्ता र औसधी-उपचारसहितको डे-केयर आवश्यक रहेको उनको बुझाई रहेको छ।

सस्तो र सुलभ स्वास्थ्य उपचार

ललितपुर महानगरपालिकाभित्रका सबै वडाहरुमा रहेका स्वास्थ्य चौकीहरुलाई थप व्यवस्थित बनाउने र नयाँ उपकरणहरुले सुसज्जित बनाउनुपर्ने महर्जनको बुझाइ छ। सकेसम्म महानगरपालिकाले नगरबासीका लागि निशुल्क उपचार दिनसक्ने नगर अस्पताल बनाउनुपर्ने समेत उनको राय छ। नगर अस्पताल बनाउन नसके भैरहेको प्राइभेट अस्पतालसंगै सहकार्य गरेर नगरबासीलाई निशुल्क स्वास्थ्यको व्यवस्था गरिनुपर्ने उनले बताए।

नगरभित्रै सुलभ शिक्षा

ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी बिद्यालयमा करिब १ प्रतिशत मात्र स्थानीयबासीहरु पढ्ने गरेको तथ्याङ्क रहेको छ भन्दै महर्जनले अब सरकारी बिद्यालयहरुलाई पनि निजि बिद्यालय सरह बिकास गरेर नगरबासीलाइ सरकारी बिद्यालयमै उत्कृष्ट शिक्षा दिने ब्वास्था गरिनुपर्ने बताए।

महँगो शिक्षाका कारण थुप्रै बालबालिकाहरु शिक्षाबाट बन्चित हुनुपरेको भन्दै उनले शिक्षा जस्तो बिषय महानगरपालिकाको प्रमुख दायित्व हुनुपर्ने बताए। महानगरभित्र रहेका बिभिन्न स्कुल, कलेजहरुसँग उचित समन्वय गरि नगरबासीलाई सहुलियत दरमा पढाउन सकिने वातावरण सिर्जना गर्ने उनले बताए। साथै महानगरभित्रका स्कुल, कलेजहरुमा नगरबासीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने समेत बताए।

नेवारी भाषालाई संरक्षण गर्न महानगरभित्रका स्कुल, कलेजहरुमा नेवारी भाषा पढाई हुनुपर्ने समेत उनको तर्क छ।

सडक मानव र लागुपदार्थ दुर्यसनी मुक्त महानगर

ललितपुर महानगरपालिकालाई सडक मानव मुक्त समाज बनाउन बिभिन्न परिबन्धमा परि सडकमा नारकीय जीवन जिउन बाध्य सडक मानवहरुको उचित उद्दार, उपचार र पुनस्थापनाको लागि महानगरपालिकाले समन्वयकारी भूमिका खेल्नुपर्ने महर्जनको तर्क छ। यस्ता क्षेत्रमा काम गर्ने समाजसेवी र संस्थाहरुलाई प्रोत्साहन दिदै आर्थिक हिसाबले समेत प्रत्यक्ष सहयोग गर्नुपर्ने तथा कामको उचित मुल्यांकन हुनुपर्ने उनको बुझाइ छ।

कलिला युवायुवतीहरु पछिल्लो समय नराम्ररी लागुपदार्थको कुलतमा फस्दै गएकाले महानगर भित्र यस्ता लागुपदार्थ ओसारपसार तथा बेचबिखानमा संलग्नलाई कडा कारवाही गरिनुपर्ने उनले बताए। साथै कुलतमा फसिसकेकाहरुको उचित उद्दार, उपचार र समाजमा पुनस्थापना गरिनुपर्ने समेत उनले बताए।

नगरबासीको गुनासो मेयरले नै सम्बोधन गर्नुपर्ने

पछिल्ला दिनहरुमा ललितपुर महानगरपालिका बासीहरुले आफ्ना गुनासाहरु सम्बोधन गराउन मुश्किल हुँदै गएको बताएपछि राजेश महर्जनले जनताको गुनासो सुन्न डिजिटल गुनासो बक्स राखिने जानकारी गराएका छन्। कम्प्युटर अथवा मोबाइलबाटै आफ्ना गुनासाहरु नगरबासीले पठाउन सकिने र उक्त गुनासाहरु वडा अध्यक्षहरुले नभई मेयर स्वयंले सम्बोधन गर्नुपर्ने उनको तर्क छ। उनले राजा जस्तो गाडीमा सरर सुरक्षा गार्ड बोकेर हिड्ने मेयर भन्दा पनि कम्तिमा महिनाको एकदिन प्रत्यक वडामा गएर सिधै जनगुनासो सुन्नुपर्ने मेयरको परिकल्पना गरेको बताए।

कथंकदाचित आफुलाई नगरबासीले मेयरका रुपमा जिताएको खण्डमा हालका मेयरले चढ्दै आएको गाडी तुरुन्तै एम्बुलेन्स बनाउने प्रतिबद्धता उनले जनाए। सरकारी गाडी चढ्नु भन्दा आफ्नै मोटरसाइकल प्रयोग गर्ने र जनतासँग प्रत्यक्ष भेटघाट गर्न समेत सहज हुने उनले बताए। जुन नगरबासीले आफ्नो अमुल्य भोट दिएर जिताउँछन् तिनै नगरबासीलाई भेट्न जाँदा सुरक्षाकर्मी लिएर जाने परम्पराको समेत अन्त्य गरिनुपर्ने उनले बताए।

बिज्ञ-समुहसँग राय माग्ने

ललितपुर महानगरपालिकाको समग्र बिकासको लागि यति मात्र नभएर अरु थुप्रै योजनाहरु रहेको उनले बताए। बिशेष गरि युवा रोजगारीका लागि, खेलकुद बिकास, बैज्ञानिक कर प्रणाली, फोहोरमैला व्यवस्थान तथा खानेपानी जस्ता समस्याहरुसँग जुध्न उनले बिज्ञ-समुह गठन गरिने जानकारी दिए। महानगरभित्र नै थुप्रै विधामा काम गरेका अनुभवी बिज्ञहरु रहेका र उनीहरुलाई महानगरले उचित सम्मान सहित बिकासका अवधारणाहरु पहिल्याउन सहि प्रयोग गर्नुपर्ने जोड दिए।

जनप्रतिनिधिहरुको मात्र झुण्ड बनाएर स्वार्थ समुहहरुको इशारामा बजेट बिनियोजन गर्नुभन्दा बिज्ञ-समूहहरुको रायबाट दिर्घकालिन बिकास परियोजनाहरु छनोट गरेर मात्र बिकास बजेट खर्च गर्नुपर्ने समेत उनको बुझाइ छ।

प्रतिक्रिया