प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ

admin

गोरखा, १२ चैत :नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगमनको खतराको अझै टरी नसकेको बताउनुभएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताउनुभएको हो ।

संविधानको रक्षाका लागि दलीय गठबन्धन गरेर अघि बढ्नु परेको उल्लेख गर्दै उहाँले अझै पनि केही राजनीतिक दल गठबन्धनमा विभाजन ल्याएर देशलाई प्रतिगमनतर्फ लैजान प्रयास गरिरहेको जिकिर गर्नुभयो ।

“प्रतिगमनको खतरा अझै टरेको छैन”, उहाँले भन्नुभयो, “शान्ति र संविधानको रक्षाका लागि सबै सचेत हुनु जरुरी छ ।”

नेता श्रेष्ठले जनमुखी विकास गरेर देशलाई परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । नेपालको सङ्घीयता विशेष प्रकारको रहेको छ”, उहाँले भन्नुभयो, “सङ्घीयता स्थापित भएसँगै नेपाली जनताको अधिकार सङ्घ प्रदेश हँुदै गाउँसम्म पुगेको छ ।”

माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धले देशमा सङ्घीयता स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको कुरालाई कसैले नर्कान नसक्ने उल्लेख गर्दै उहाँले अब विकास र समृद्धिमार्फत सङ्घीयताको मर्म र भावना जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।

“सङ्घीयता स्थापनापछि त्यसको कार्यान्वयनमा केही कमीकमजोरी भएका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता कमीकमजोरीलाई समीक्षा गर्दैै जनताको घरदैलोमा पुग्नुपर्ने बेला आएको छ, अब हामीले जनतालाई बुझाउनु पनि पर्छ ।”

प्रतिक्रिया