सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोज्याे: एमाले

admin

काठमाडौँ, १४ चैत :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ ।

आइतबार काठमाडौंमा बसेको एमाले स्थायी कमिटी बैठकले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाउदै निर्वाचनलाई प्रभावित पार्ने काम भएको निष्कर्ष निकालेको हो ।

बैठकले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोगको भूमिका अनुचित देखिएको भन्दै मतपत्रको रङ परिवर्तन गरेर हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्चाउन माग गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले महाकाली नदीमा भारतले एकतर्फी निर्माण गरिरहँदा सरकार मौन बसेका भन्दै आपत्ति जनाएको उहाले बताउनुभयो । बैठकले स्थानीय चुनावको प्रतिबद्धता पत्र तयारीका लागि चैत १६ गते हाइब्रिड भर्चुअल बैठक राख्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सत्ता पक्षीय दललाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको बताउनुभयो ।

आयोगले दलहरुसँग परामर्श नगरी एउटा दललाई फाइदा पुग्ने गरि मतपत्रको रंग बदल्ने, मनोनयन दर्ताको समय दुई दिन दिनेजस्ता निर्णय गरेको उहाले बताउनुभयो । अहिले सत्ता गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङयुक्त काम गरिरहेको उहाको आरोप छ ।

एमालेले केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यहरुले चैत २० गतेसम्म लिखित सुझाव दिनुपर्ने निर्णय गरेको छ । एमालेले वैशाख ९ गते अन्तिम प्रतिबद्धता पत्र सबै पालिकाबाट एकसाथ सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया