जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै पल शाह

admin

काठमाडौँ, १५ चैत : एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध मंगलबार पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै उनले आज उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी गरेका हुन् । पल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौं । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौं’, उनले भने ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो ।

७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

गायिकालाई सुटिङका क्रममा विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक(पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका(४ दुलेगौंडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मसर्मपण गरेका थिए ।

प्रतिक्रिया