नेपालमा भैरहेको भारतीय अतिक्रमणको संयुक्त राष्ट्रसंघमा विरोध

पिएनपि खबर

काठमाडौं, १५ चैत: ‘नेपालमा भारतीय अतिक्रमणको भूराजनीतिक आयाम´ भन्ने विषयमा स्विटजरल्यान्डको जुरिचमा एक जूम वेबिनारको आयोजन गरिएको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ४९ औं सत्रको साइड इभेन्टका रूपमा मार्च २५ तारिखमा सञ्चालित उक्त जूम वेबिनारमा अन्तर्राष्ट्रिय सुरक्षा तथा विकास केन्द्र, बर्लिनका वरिष्ठ अनुसन्धाता डा. सरिफ असिस, अन्तर्राष्ट्रिय युवा समाज, नेपालका सभापति डा. पियारत्न महर्जन र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन `युवा उत्थान लैङ्गिक समानता´की संस्थापक अभियन्ता सुश्री साहला अनिसले गरेकी थिइन् । स्विटजरल्यान्डका International Human Rights Movement, Khiam Rehabilitation Center´ (KRC) र Universal Human Rights Council नामक संस्थाहरूको प्रायोजनमा भएको उक्त कार्यक्रममा वक्ताहरूले नेपालमा भारतीय अतिक्रमणको भूराजनीतिक प्रभावबारे प्रकाश पारेका थिए । जुरिचमा सञ्चालित उक्त कार्यक्रमलाई जेनेभाबाट होस्ट गरिएको बताइएको छ ।

कार्यक्रमका वक्ताहरूले नेपालमा भारतीय अतिक्रमणको भूराजनीतिक आयामका बारेमा चर्चा गर्दै भारतले नेपालको जमिन अतिक्रमण गरेको मात्र होइन सिमावर्ती जनतामा त्रास र अशान्ति फैलाएर मानवअधिकारको हनन गरेको बताएका थिए ।

उक्त कार्यक्रममा नेपालमा भारतीय अतिक्रमणको भूराजनीतिक आयाम कति सघन र व्यापक छ भन्ने विषयमा प्रकाश पार्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतका प्रधानमन्त्रीले नै नेपालमा भारतीय अतिक्रमणको नेतृत्व लिएको उदाहरण प्रस्तुत गरेका थिए । मोर्चाका अध्यक्ष नेपालले गत पुस १५ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको लिपुलेकमा भारतले सडक विस्तार गरेको कुरालाई गौरवको विषय बनाएर नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि खुला रूपमा प्रहार गरेको प्रसङ्ग उठाएका थिए । नेपालको ६०००० वर्ग किलोमिटरभन्दा बढी भूमि भारतको उपनिवेशमा रहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आयका मोर्चाका अध्यक्ष नेपालले उक्त जूम वेबिनारमा कालापानी क्षेत्रलाई भारतले उसको नक्सामा राखेपछि नेपालले पाँच पटकसम्म कूटनीतिक नोट पठाउँदा पनि कुनै प्रतिक्रिया नदिएर अतिक्रमणलाई निरन्तरता दिन खोजेको बताएका थिए ।

प्रतिक्रिया