छैटौँ भक्तपुर व्यापार मेला चैत २४ गतेदेखि

admin

काठमाडौँ, १५ चैत : छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन व्यापार मेला यही चैत २४ गतेदेखि सुरु हुने भएको छ ।

भक्तपुरको औद्योगिक, सांस्कृतिक एवं पर्यटकीय प्रवद्र्धनका लागि सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी क्षेत्रफलमा उक्त मेला आयोजना गर्न लागिएको हो ।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको उक्त मेला वैशाख ४ गतेसम्म चल्नेछ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामा उक्त मेला आयोजना हुनेछ ।

उक्त मेलामा दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ताचप्पल, कृषि तथा हस्तकलाका सामाग्रीको प्रदर्शनी रहनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल्स, विद्युतीय कृषि औजारको प्रदर्शनीसमेत हुनेछ ।

मेलामा सहभागीको मनोरञ्जनका लागि राष्ट्रिय कलाकारको प्रस्तुतिको कार्यक्रमसमेत राखिएको छ । उक्त प्रस्तुतिअन्तर्गत फेसन ¥याप तथा नृत्य, हास्यव्यङ्ग्य एवं गीतसङ्गीतका कार्यक्रम आयोजना गरिने मेलाका संयोजक दीपक थापाको भनाइ छ ।

त्यस्तै बालबालिकाका लागि एशियाकै उत्कृष्ट बाल उद्यानको व्यवस्था गरिएको छ । जसमा रोटी पिङ, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स रहनेछन् । उक्त मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको समेत प्रदर्शनी तथा बिक्री हुनेछ ।

सो मेलामा करिब २०० स्टल रहने आयोजकले जनाएको छ । मेलाका लागि स्टल राख्न चाहनेले स्टलको साइजअनुसार रु छ हजारदेखि १९ हजार ५०० सम्म तिरेर स्टल बुकिङ गर्न सक्नेछन् । अधिकांश स्टल लगभग बुकिङ भइसकेको मेला आयोजक समितिका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

मेलामा सहभागी हुनका लागि रु ५० शुल्क लाग्नेछ । विद्यार्थीका लागि भने टिकटमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलामा बिक्री तथा बुकिङ गरिने सामानमा २० देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त मेलामा तीन लाखभन्दा धेरै अवलोकनकर्ताको सहभागिता रहने र रु आठ करोडभन्दा बढीको व्यापार गर्ने लक्ष्य आयोजको छ ।

प्रतिक्रिया