अझै केही दिन मौसम धुम्म हुने

admin

काठमाडौँ, १५ चैत : काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अझै केही दिन धुम्म रहने मौसमविद्ले बताएका छन् । तत्काल ठूलो पानी पर्ने वा ठूलो हावाहुरी चल्ने सम्भावना नभएकाले अझै केही दिन मौसम खुल्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

लामो समयदेखि ठूलो पानी नपरेको र राम्ररी हावा नचलेकाले मौसम धुम्मिएको उहाँले बताउनुभयो । काठमाण्डौमा धुवाँ र धुलो थुप्रिएकाले प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै पनि देखिएको छ ।

स्थानीय वायुको प्रभावका कारण देशको केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि त्यतिले मात्रै धुलो र धुवाँ नहट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच मौसम धुम्म हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान र अवतरण प्रभावित भएका छन् ।

कम भिजिविलिटी भएका कारण विमानस्थलको उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आन्तरिकतर्फका दर्जनौँ उडान ढिला भएका छन् भने केही रद्द भएका छन् । भिजिविलिटी कम हुँदा हिजो साेमवार पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरू प्रभावित भएका थिए ।

प्रतिक्रिया