आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै आधार तयार गरेको अध्यक्ष ओलीको दाबी

admin

काठमाडौँ, १५ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै आधार तयार गरेको दावी गर्नुभएको छ ।

मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित वनवाटिकामा निर्माण गरिएको भ्युटावर उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले गरेको पूर्वाधार विकासका कामको जनमानसलाई पनि जानकारी गराउनुपर्ने बताउनुभयो ।

एमालेले गरेका काम जनतालाई भ्रममा पारेर अरु कसैले जस लिन सक्ने भन्दै उहाले सचेत नागरिकले ख्याल गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले मुलुकको स्रोध साधनको सहि उपयोग गरेर विकासको लहर बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले रुपन्देहीमा देखिएको सुकुम्वासी समस्या समाधान गर्न गठबन्धन सरकारले रोकेको आरोप पनि लगाउनुभयो । उहाले अध्यक्ष ओलीले विकासका योजनालाई निरन्तर अगाडि बढाउनुपर्ने र आधुनिक प्रविधिमा कृषिलाई ध्यान दिदै उत्पादन बढ्ने गरी स्थानीय सरकारले योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने भन्दै बहुउद्देश्यीय टावर निर्माण गरेको हो । कुल ११ करोड ४५ लाख ८१ हजार ३ सय ३२ रुपैयाँमा टावर निर्माण भएको बताइएको छ ।

एक सय ३४ फिट उचाइको १० तले टावरको भुईँ तला ३ हजार ५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताउनुभयो ।

प्रतिक्रिया