सुरु भयो राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, ६१ टोलीबीच प्रतिस्पर्धा

admin

काठमाडौं, १६ चैत : ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ बुधबारबाट काठमाडौं भृकुटीमण्डप बँगौचामा सुरु भएको छ ।

अर्थ मन्त्रालयका सचिब मधुकर मरासिनी, बरिष्ट लोक गायक कुमार बस्नेतले यो प्रतियोगिताको बुधबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै अर्थ सचिब मरासिनीले एक समय गाउँमा गाईने लोक दोहोर गीत अहिले शहरमा पनि त्यत्तिकै प्रचलित भएको बताए । नेपालको मौलिक लोक सँगीतको रुपमा लोक दोहोरी गीत रहेको चर्चा गर्दै यो प्रतियोगिताले लोक दोहोरीका विकाशमा अझ टेवा पु¥याउने विश्वास उनले व्यक्त गरे । आफुले मन्त्रालयका तर्फबाट लोक दोहोरी गीतको प्रवर्धनका लागि सहयोग गर्ने पनि उनले बताए । अहिले लोक दोहोरी गीत लोकमा लोकप्रिय भएको जिकिर उनले गरे ।


अर्का अतिथि तथा बरिष्ट लोक गायक कुमार बस्नेतले आफुहरुको पालामा लोक गीत गाउनेलाई गाउँलेको रुपमा हेर्ने गरेको स्मरण सुनाए । आफ्ना केही गीतको चर्चा गर्दै अहिले निकै राम्रा लोक दोहोरी गीतहरु आएको छ भने । कोरोनापछि लोक दोहोरी गीत प्रतियोगितामा दर्शकको उपस्थित देखेर खुसी व्यक्त गर्दै लोक दोहोरी प्रतिष्ठानले निकै राम्रो काम गरेको उनले चर्चा गरे ।

यस्तै लोक दोहोरी प्रतिष्ठानको पूर्व अध्यक्ष तथा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानले अहिलेका कतीपय चर्चित लोक दोहोरी गायक गायिकाहरु बिगतमा यस्तै प्रतियोगिताबाट यो क्षेत्रमा आएको स्मरण सुनाए ।

संगीत क्षेत्रमा सरकार उदासिन भएको टिप्पणी गर्दै उनले भने,‘ हाम्रा श्रष्टाको निधन हुँदा कमलादीको प्रज्ञा प्रतिष्ठानमा श्रष्टाको शब राखेर श्रद्धाञ्जलन प्रकट गर्न पनि रोक लगाईयो । हामीले टोखामा प्रतिष्ठानको कार्यालय जेनतेन बनाएको भए पनि अब दिवँगत श्रष्टालाई श्रद्धाञ्जली दिनको लागि समेत केही जग्गा जोहो गर्न आर्थिक जोगाड गर्नु पर्ने भएको छ ।’

हास्य अभिनेता जितु नेपालले आफु हास्यव्यँग्य अभिनेता भए पनि मोडल बनेर कैयौं लोक दोहोरी गीतमा मोडलिङ गरेको स्मरण सुनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजिवन सदस्य बन्ने घोषणा गर्दै आफु पनि अभिनयको हिसावले लोक दोहोरीको कलाकार भएको बताए । प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विभिन्न कलाकारको क्यारिकेचर गर्दै उनले यस्तो प्रतियोगिताले लोक दोहोरीमा एक प्रकारको उत्साह जागेको छ भने ।

बुधबारबाट ४ दिनसम्म जारी रहने यो प्रतियोगितामा राजधानी र मोफसबाट ६१ वटा टोलीले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने पनि उनले जनाए । यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने पनि अध्यक्ष बिजीले कार्यक्रममा जानकारी गराए ।

उनका अनुसार यो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो कार्यक्रममा दोहोरीसँगै खानाहरु विभिन्न स्टल पनि राखिएकाले दर्शकले खानाको स्वादसँगै दोहोरी सुन्न सक्ने अध्यक्ष बिजीले बताए । यस पटकको दोहोरी गीत प्रतियोगिता भव्य र सभ्य हुने पनि उनले बताए ।

वुधबारको उद्घाटन समारोहमा गायक प्रकाश सपुतले पीर गीत गाउँदा दर्शकले तालीले साथ दिएका थिए । यस्तै कुलेन्द्र बिक, रामजी खाँडलगायतका विभिन्न कलाकारले प्रस्तुत गरेका गीतहरुले पनि दर्शक नचायो । कार्यक्रममा विभिन्न कलाकारहरुले आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए ।

बुधबार उद्घाटन भएको यो प्रतियोगितामा बिहिबार बिहान नौ बजेबाटै दोहोरी गायन टोली बीच गायन प्रतिस्पर्धा हुने भएको छ । बिहान ९ बजे देखि बेलुका ७ बजेसम्म जारी रहने यो प्रतियोगिताको समापन शनिबार बेलुका हुनेछ ।

 

प्रतिक्रिया