निर्वाचनमा तालमेल बाध्यकारी हैन : महामन्त्री शर्मा

admin

काभ्रेपलाञ्चोक, १६ चैत :नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताउनुभएको छ ।

उहाँले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताउनुभयो ।

“निर्वाचनमा अन्य दलसँगको तालमेल बाध्यकारी भने हैन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ”, शर्माले भन्नुभयो । उहाँले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने हुन्छ ।” गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उहाँले दोहो¥याउनुभयो ।

नेता शर्माले कांग्रेसलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको दाबी गर्नुभयो । “गठबन्धन हुँदा सहयात्री दलबीच कुन तहमा कस्ता उम्मेदवारी दिने भन्ने विषयले चर्चा पाउन थालेको छ, यसबारे पार्टीको संसदीय बोर्डले निर्णय गर्छ”, उहाँले भन्नुयभयो ।

उहाँले १५५ स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका स्थानमा दश प्रतिशत र पराजित ८४ स्थानीय तहमा पाँच प्रतिशत मत बढाउँदा विजयी हुनसक्ने तथ्याङ्क आँकलन गर्नुभएको थियो ।

जिल्ला सभापति तीर्थ लामाले आसन्न निर्वाचनलक्षित पार्टीको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानसँगै सङ्गठन विस्तारमा लागिएकाले जिल्लाको १३ स्थानीय तहमै नेपाली कांग्रेस विजयी हुने योजना बनाइने बताउनुभयो । रासस

प्रतिक्रिया