सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष महिला खेलाडीलाई वनदेवी युवा क्लबको साथ

पिएनपि खबर

काठमाडौं, १७ चैत : तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई कैलालीको वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित क्लबले अवार्डको वर्ष महिला खेलाडी विधालाई प्रायोजन गरेको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा अघिल्लो संस्करण पनि क्लबले विधा प्रायोजन गरेर साथ दिएको थियो । विभिन्न प्रतियोगिताहरूको आयोजना गर्दै आएको वनदेवी युवा क्लब महिला गोल्डकपको तयारीमा रहेको छ ।

कैलालीको धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको तयारीमा क्लब जुटेको छ । ३ देखि १० वैशाखसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुन गइरहेको छ ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुशन जोशीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई नगद १० हजार दिइनेछ । उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिइनेछ । प्रतियोगिता सञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

क्लबले सुदुरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरूको उपाधि समेत जितेको छ । गत २८ फागुनमा धनगढीमै सर्वाधिक धनराशिको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गरिएको थियो ।

अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । यस वर्षको पुरुष खेलाडी विधालाई काठमाडाैँको मास ह्युम रिर्सोसले प्रायोजन गरेको छ ।

प्रतिक्रिया